चलचित्र ‘परिवर्तन’ लाई सेन्सरको ‘पिजी’ सर्टिफिकेट: १६ वर्ष मुनिकालाई अभिभावक अनिवार्य

सहयात्रा टिभी

काठमाडौं । माघ ७, यही शुक्रबार (माघ ९ गते) देखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परिवर्तन’ ले सेन्सर बोर्डबाट ‘पिजी’ (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले बुधबार फिल्म हेरेपछि १६ वर्ष मुनिका दर्शकका लागि अभिभावक अनिवार्य हुनुपर्ने सर्तसहित प्रदर्शन अनुमति दिएको हो।

सेन्सर बोर्डको यो निर्णयसँगै अब १६ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीले यो चलचित्र हेर्नका लागि आमाबुबा वा अभिभावकलाई साथमा लैजानुपर्नेछ।

निर्देशक विजय केरुङका अनुसार चलचित्रमा समेटिएका समसामयिक राजनीतिक विषयवस्तु र केही डरलाग्दा दृश्यहरूका कारण बोर्डले ‘पिजी’ सर्टिफिकेट दिएको हो। “हाम्रो चलचित्रमा राजनीतिक उथलपुथल र केही यस्ता दृश्यहरू छन् जसलाई १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा हेर्नु उपयुक्त हुन्छ,” निर्देशक केरुङले जानकारी दिए।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। चलचित्रको कथा स्वयम् निर्माता सिवाकोटीकै हो भने पटकथा तथा संवाद लेखन शिवम् अधिकारीले गरेका छन्।

चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। लामो समयपछि करिश्मा मानन्धर र सरोज खनाल जस्ता दिग्गज कलाकारहरूलाई पर्दामा देख्न पाइने भएकाले पनि यो चलचित्रप्रति दर्शकमा चासो देखिएको छ।

प्रकाशित : 21 January, 2026

प्रतिक्रिया दिनुहोस्