राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामाथि कर बढाउँदै
सहयात्रा टिभी
काठमाडौं । माघ १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानको आयातमा लाग्ने भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका छन् ।

१५ प्रतिशतबाट बढाएर भन्सार शुल्क २५ प्रतिशत पुर्याउने ट्रम्पको घोषणा छ । दक्षिण कोरियाली व्यवस्थापिकाले गत वर्ष वासिङ्टनसँग भएको व्यापार सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको भन्दै ट्रम्पले यो कदम चालेका हुन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले भनेका छन्, ‘विशेषगरी गाडी, काठजन्य सामग्री र औषधि लगायत अन्य सबै आयातित वस्तुहरूमा भन्सार वृद्धि हुनेछ ।’
ट्रम्पको यस घोषणाले अमेरिका र दक्षिण कोरियाबीचको दरिलो सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।
खासमा यो तनाव सन् २०२५ जुलाइमा तय भएको र अक्टोबरमा सम्पन्न भएको ट्रम्पको सियोल भ्रमणका क्रममा पुनस् पुष्टि गरिएको व्यापार खाकाबाट सुरु भएको हो ।
उक्त सम्झौता अनुसार वासिङ्टन दक्षिण कोरियाली सामानमा लाग्ने भन्सार शुल्क २५ प्रतिशतबाट १५ प्रतिशतमा झार्न सहमत भएको थियो ।
सियोलले पनि अमेरिकी सेमिकन्डक्टर, जहाज निर्माण र बायोटेक जस्ता रणनीतिक क्षेत्रहरूमा ३५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो ।
अमेरिकाले आफ्नो तर्फबाट शुल्क घटाउने प्रक्रिया अघि बढाए पनि दक्षिण कोरियाको संसद्मा भने यो सम्झौता नोभेम्बरदेखि नै अड्किएको छ ।
दक्षिण कोरिया अमेरिकाको आठौं ठूलो व्यापारिक साझेदार हो । २५ प्रतिशतको शुल्क वृद्धिले गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ ।
दक्षिण कोरियाले अमेरिका निर्यात गर्ने कुल सामानको करिब २७ प्रतिशत हिस्सा अटोमोबाइलले ओगट्छ । ह्युन्डाइ जस्ता ठूला कम्पनीहरूको आपूर्ति सञ्जालमा यसले ठूलो अवरोध पुर्याउन सक्छ ।


