नेप्से सूचकसँगै घट्यो कारोबार रकम 

सहयात्रा टिभी

काठमाडौं । माघ १८, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू अधिकांशले गत आर्थिक वर्ष आम्दानीबाट सेयरधनीलाइ लाभांश वितरण गरिसकेको अवस्था छ ।

त्यसले गर्दा पनि सेयर लगानीकर्ताले प्रतिफलका लागि धेरै समय पर्खनुपर्ने भएकाले पनि बजारमा नकारात्मक असर गरेको हो । साथै, आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जोहो गर्न सेयर बिक्री दबाबले पनि बजार घटेको विश्लेषण लगानीकर्ताको छ ।

आइतबार कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन ।

नेप्सेमा मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १९ प्रतिशत घटेको छ ।

 

प्रकाशित : 1 February, 2026

प्रतिक्रिया दिनुहोस्