आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण
सहयात्रा टिभी
काठमाडौं । माघ २८, सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको भए तापनि आन्तरिक अर्थतन्त्रमा देखिएका विभिन्न चुनौतीका कारण लक्ष्य भेट्न कठिन हुने देखिएको हो । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेको अनुमान थियो ।
किन घट्यो वृद्धिदरको लक्ष्य ?
अर्धवार्षिक समीक्षाअनुसार मुख्य गरी तीनवटा कारणले आर्थिक वृद्धिदर खुम्चिने देखिएको छ:
१. धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी ।
२. निर्माण क्षेत्रमा देखिएको निरन्तर सुस्तता ।
३. घरजग्गा कारोबारमा आएको भारी गिरावट ।
क्षेत्रगत अवस्था: उद्योगमा उत्साह, कृषिमा दबाब
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्याङ्कअनुसार कृषि क्षेत्रको विस्तार १.३६ प्रतिशतमा सीमित हुने देखिएको छ । धानको उत्पादन घटे पनि मकै, कोदो, फापर र पशुपालन क्षेत्रमा भने सकारात्मक वृद्धि हुने अनुमान छ ।
यसविपरीत उद्योग क्षेत्रमा भने सुधारका संकेत देखिएका छन् । ऊर्जा र निर्माण क्षेत्रका गतिविधि बढ्दा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि ५.४४ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान छ । यस्तै, पर्यटन, व्यापार र वित्तीय क्षेत्रमा भएको सुधारका कारण सेवा क्षेत्र ३.०३ प्रतिशतले बढ्ने देखिएको छ ।
मुद्रास्फीतिमा ठूलो राहत
आर्थिक वृद्धिदर सुस्त रहे पनि मूल्यवृद्धि (मुद्रास्फीति) नियन्त्रणमा भने सरकारलाई सफलता मिलेको देखिएको छ । प्रतिवेदनअनुसार चालु आवको पहिलो ६ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.९७ प्रतिशतको उच्च विन्दुमा रहेको थियो ।
पहिलो त्रैमासमा मुलुकको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ, जुन गत वर्षको सोही अवधिको (२.९ प्रतिशत) तुलनामा सामान्य बढी हो । सरकारले उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा देखिएको क्रमिक सुधारले अर्थतन्त्रलाई केही आड दिने विश्वास व्यक्त गरेको छ ।


