सर्वोच्च अदालतले पनि सुनायो एआर रहमानविरुद्ध फैसला, के हो विवाद ?

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, भारतको सर्वोच्च अदालतले फिल्म ‘पोन्नियिन सेल्वन २’ (पीएस-२) मा समावेश ‘वीरा राजा वीरा’ गीतको संगीत डागर बन्धुहरूले रचना गरेको ‘शिव स्तुति’ बाट लिइएको ठहर गरेको छ। फेब्रुअरी १३ मा भएको सुनुवाइमा सर्वोच्चले यसअघि दिल्ली उच्च अदालतको एकल इजलासले सुनाएको फैसलालाई नै सदर गरेको हो।

के हो विवाद ?
प्रख्यात भारतीय शास्त्रीय गायक फैयाज वसिफुद्दीन डागरले सन् २०२३ मा दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उनले निर्देशक मणिरत्नमको फिल्म ‘पोन्नियिन सेल्वन २’ मा प्रयोग गरिएको ‘वीरा राजा वीरा’ गीतको संगीत आफ्ना पिता नासिर फैयाजुद्दीन डागर र काका जहिरुद्दीन डागरले रचना गरेको ‘शिव स्तुति’ बाट चोरी गरिएको दाबी गरेका थिए।

डागरका अनुसार बुबा र काकाको निधनपछि पारिवारिक सम्झौता अन्तर्गत उक्त संगीतको प्रतिलिपि अधिकार (कपीराइट) उनीसँग सुरक्षित थियो। फिल्म निर्माण टोलीले संगीतको श्रेय (क्रेडिट) नदिएको भन्दै उनले निर्माण कम्पनी मद्रास टकसिज, लाइका प्रोडक्सन र संगीतकार एआर रहमानसँग क्षतिपूर्तिको माग गरेका थिए।

एआर रहमानको तर्क
यस विषयमा एआर रहमानका वकिलले आरोपको खण्डन गरेका थिए। रहमानको पक्षबाट ‘शिव स्तुति’ ध्रुपद शैलीको परम्परागत संगीत भएको र यस्तो सार्वजनिक सम्पत्ति (पब्लिक डोमेन) मा रहेको शास्त्रीय रचनामा कसैले पनि व्यक्तिगत अधिकार दाबी गर्न नसक्ने तर्क गरिएको थियो। साथै, उनले ‘वीरा राजा वीरा’ गीत पश्चिमी संगीतको आधारमा तयार पारिएको दाबी गरेका थिए।

अदालतको आदेश
दिल्ली उच्च अदालतको एकल इजलासले गत वर्ष अप्रिल २५ मा फैसला सुनाउँदै एआर रहमानको संगीतले निवेदकको अधिकार उल्लंघन गरेको ठहर गरेको थियो। अदालतले ‘वीरा राजा वीरा’ गीत ‘शिव स्तुति’ बाटै प्रेरित भएर केही परिवर्तनका साथ बनाइएको बताएको थियो।

अदालतले दिएको आदेशमा निम्न बुँदा उल्लेख थिए:
१. सबै ओटीटी र अनलाइन प्लेटफर्ममा गीतको ‘क्रेडिट स्लाइड’ परिवर्तन गरी यो संगीत दिवंगत उस्ताद नासिर फैयाजुद्दीन र जहिरुद्दीन डागरको ‘शिव स्तुति’ मा आधारित भएको उल्लेख गर्नुपर्ने।
२. एआर रहमानले दिल्ली उच्च अदालतको रजिस्ट्रारकोमा २ करोड भारतीय रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने।
३. मुद्दाको खर्च स्वरूप रहमानले वादी वसिफुद्दीन डागरलाई २ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने।

एकल इजलासको उक्त फैसला विरुद्ध एआर रहमानले दिल्ली उच्च अदालतको डिभिजन बेन्च (संयुक्त इजलास) मा पुनरावेदन गरेका थिए। डिभिजन बेन्चले रहमानको पक्षमा फैसला गर्दै अघिल्लो आदेश रद्द गरिदिएको थियो। त्यसपछि वसिफुद्दीन डागरले सर्वोच्च अदालतमा अपील गरेका थिए। अन्ततः सर्वोच्चले डागरको पक्षमा फैसला गर्दै एकल इजलासकै आदेशलाई कायम राखेको छ।

प्रकाशित : 16 February, 2026

प्रतिक्रिया दिनुहोस्