मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २, सिरहा सहित मिथिलाञ्चल क्षेत्रमा आज बुधबार जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् । सूर्यको बढ्दो तापबाट राहत दिलाउने उद्देश्यले मनाइने यस पर्वले मानव मात्र होइन, वनस्पति र पशुपक्षीको पनि शीतलताको कामना गर्दछ ।

‘जुड’ र ‘शीतल’ शब्द मिलेर बनेको यस पर्वमा ‘जुड’ ले आशीर्वाद स्वरूप जुराउने र ‘शीतल’ ले शीतलता प्रदान गर्ने अर्थ दिन्छ । यस दिन ज्येष्ठ सदस्यहरूले सानालाई टाउकोमा पानी राखेर आशीर्वाद दिने परम्परा छ । बिहानै उठेर परिवार तथा आफन्तजनलाई शीतलताको कामना गर्दै पानी जुराउने चलन रहेको छ ।

कृषिप्रधान मिथिलाञ्चलमा यस पर्वमा कृषि उत्पादनको विशेष प्रयोग गरिन्छ । घरको दैलो, खम्बा, चुलो, सवारी साधन, घरायसी सामग्रीदेखि पशुपक्षी र बोटबिरुवासम्म पानी जुराएर शीतलता प्रदान गरिन्छ । चुलोसमेत जुराइने भएकाले यस दिन घरमा आगो बालिँदैन ।

यस पर्वमा गाउँघरका इनार तथा कुवाको सरसफाइ तथा जीर्णोद्धार गर्ने परम्परा पनि रहेको छ । साथै शरीरभरि हिलो दल्ने प्रचलनलाई प्राकृतिक चिकित्साको रूपमा लिइन्छ, जसले गर्मीयाममा हुनसक्ने रोगबाट बच्ने विश्वास गरिन्छ ।जुडशीतलमा खानपानको पनि विशेष महत्व रहेको छ । एक सालको खाना अर्को सालमा भन्ने मान्यताअनुसार अघिल्लो राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । तरुवा, बरी, दहीलगायतका परिकार विशेष रूपमा सेवन गरिन्छन् ।

कुलदेवतालाई बासी भात, दही, मिठाइ र आँपको टिकुला चढाइने परम्परा छ भने चिल र स्याललाई समेत नैवेद्य दिने चलन छ । यस अवसरमा कतिपय स्थानमा पहलमानी तथा चङ्गा प्रतियोगिता आयोजना गर्ने परम्परा पनि रहेको छ । जुडशीतल पर्वले प्रकृतिसँगको सामञ्जस्य, स्वास्थ्यप्रति सचेतना र सामुदायिक एकताको सन्देश दिने विश्वास गरिएको छ ।

स्थानीय ७६ वर्षीय उतिमलाल रायले जुडशीतल पर्वले परिवार र समाजमा मेलमिलाप बढाउने बताउँदै भने, यो पर्वले प्रकृतिसँग जोडिन र एकअर्काप्रति सद्भाव बढाउन ठूलो भूमिका खेल्छ । यस्तै, ७४ वर्षीय बिलेक्षन मण्डलले गर्मीबाट राहत पाउन तथा स्वास्थ्य जोगाउन यो पर्व महत्वपूर्ण रहेको उल्लेख गर्दै भने, हामीले पुर्खादेखि मनाउँदै आएको यो पर्वले शरीरलाई शीतलता दिनुका साथै रोगबाट बच्ने विश्वास दिलाउँछ ।

प्रकाशित : 15 April, 2026

प्रतिक्रिया दिनुहोस्