रोल्पा जिप दुर्घटना : शव आज आफन्तलाई जिम्मा लगाइने
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १८, थवाङ गाउँपालिका–१, रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा थप खोज तथा उद्धार कार्य पुन: सुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुनेछ ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको जनाइएको छ ।
भौगोलिक विकटताका कारण शव संकलन गरी घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । सबै शवको संकलन भइसकेको जानकारी दिँदै उनले उद्धार कार्य सकिए पश्चात् आज नै सबैको पहिचान हुने प्रजिअ क्षेत्रीले बताए ।
