इरानको कब्जामा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५ , सरकारले इरानको कब्जामा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी राखेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उनी इरानी सेनाको नियन्त्रणमै रहेको र कानुनी प्रक्रियाहरू सुरु नभएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भने, ‘इरानी नियन्त्रणमा रहेका अमृत झाको रिहाइ प्रक्रियामै छ । इरानको पछिल्लो विषम परिस्थितिका कारण कानुनी प्रक्रिया बाँकी छ ।’

उनले अमृतको रिहाइको लागि सम्बन्धित निकाय र परिवारसँग सम्पर्कमा रहिरहेको बताए । त्यस्तै रिहाइको प्रयास जारी राखेको पनि जानकारी गराए ।

इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

 

प्रकाशित : 8 May, 2026

प्रतिक्रिया दिनुहोस्