धनगढीका मेयर नपुग्दै कुटिएको थियो वडा सदस्यको परिवार

सहयात्रा टिभी

काठमाडौँ । जेठ ७, बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल हिमालको रानीसैन बेसक्याम्प गइरहको थियो ।

तर, बाजुरा–हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका–३ को लाम्पाटामा एक समूहले मेयर हमाल नेतृत्वको टोलीलाई अघि बढ्न दिएन । ढुंगामुढा गर्दै उनीहरु आक्रमणमा उत्रिएपछि पर्यटन प्रवर्द्धनका लागि पुगेका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाले भागेर ज्यान जोगाए ।

झन्डै तीन सयको संख्यामा रहेका हुम्लाको खार्पुुनाथ गाउँपालिका–२ थालीका स्थानीयले ढुुंगामुढा गरेपछि भ्रमणमा हिँडेकाहरु भागिरहेको दृष्य सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।

थालीका बासिन्दाले विगतदेखि नै लाम्पाटा क्षेत्रमा दाबी गर्दै आएका थिए । सोही कारण त्यहाँ विवाद थियो । सुदूूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि थप विवाद बढेको थियो ।

कुनै पनि हालतमा प्रहरी चौकी निर्माण गर्न नदिने अडानमा खार्पुनाथका बासिन्दा थिए । धनगढीबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि स्थानीयबासिन्दा त्यहाँ जम्मा भएको पाइएको छ । वडा सदस्यको परिवारमाथि मरणासन्न हुनेगरी कुटपिट

हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेका थिए । त्यसपछि उनी हुम्लाको खार्पुनाथको थाली गाउँको नजरमा परे ।

लाम्पाटा क्षेत्र आफ्नो दाबी गर्दै आएका थालीपासीको योजनामा गुरुङको परिवारमाथि आक्रमण गरिएको स्थानीय बताउँछन् ।

२ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटास्थित वडा सदस्यको घरमा उनीहरु जम्मा भएका थिए । प्रहरी चौकी बनाउन जग्गा दिएको निहुँमा उनीहरुले ३ जेठमा गुरुङको घरमा आक्रमण गरेका थिए । गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई घरमै कुटपिट गरिएको थियो ।

 

प्रकाशित : 21 May, 2026

प्रतिक्रिया दिनुहोस्