सुदूरपश्चिम र लुम्बिनीमा ‘लु’को जोखिम : ३ दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह
सहयात्रा टिभी
काठमाडौँ । जेठ ९, जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा आगामी तीन दिनसम्म तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिनमार्फत उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा ती प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस वा सोभन्दा पनि बढी पुग्न सक्ने देखिएकाले विभागले आवश्यक तयारी र सावधानीका लागि सार्वजनिक अनुरोध गरेको हो।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम र लुम्बिनीका कतिपय स्थानमा जेठ ६ गतेदेखि नै तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेको छ। विभागले विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने क्षेत्रका रूपमा तोकेको छ। यसका साथै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा पनि गर्मीको अवस्थालाई निरन्तर निगरानी र अद्यावधिक गर्नुपर्ने देखिएको छ।
तातो हावा र अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने चेतावनी दिँदै विभागले थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने र बेहोस हुने जस्ता लक्षणहरूप्रति सजग रहन आग्रह गरेको छ। यस्तो अवस्थामा मांसपेशी बाउँडिने वा बान्ता हुने जस्ता समस्या समेत हुन सक्ने भएकाले विशेष सावधानी जरुरी छ।
गर्मीको जोखिमबाट बच्नका लागि धेरै गर्मी हुने समयमा घरभित्रै वा चिसो स्थानमा बस्न र चर्को घाम लागेको बेला बाहिर ननिस्कन सुझाव दिइएको छ। बाहिर जानै परेमा हल्का सुतीका कपडा लगाउन, टाउको छोप्न वा टोपीको प्रयोग गर्न तथा शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा सर्वत जस्ता झोल पदार्थ प्रशस्त पिउन विभागले अनुरोध गरेको छ। स्वास्थ्यमा कुनै पनि समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा रहन र मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने दैनिक बुलेटिनहरू नियमित रूपमा अद्यावधिक गर्न समेत सबैमा जानकारी गराइएको छ।
