गुजरातलाई ९२ रनले हराउँदै बैंगलोर लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

सहयात्रा टिभी

काठमाडौं । जेठ १३ , साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाएको छ।


आरसिबीले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९।३ ओभरमा १६२ रनमै अलआउट भयो। गुजरातसँग भने अझै फाइनल पुग्ने एउटा अवसर बाँकी छ। अब टोलीले आज (बुधबार) हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ।

पाँचौँ पटक फाइनलमा आरसिबी

आरसिबीले कुल पाँचौँ पटक आइपिएल फाइनलमा स्थान बनाएको हो। यसअघि टोली सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराउँदै उपाधि जितेको आरसिबी उपाधि रक्षा गर्न अब एक कदम टाढा छ।

अर्कोतर्फ गुजरातका लागि यो खेल निराशाजनक रह्यो। टोलीका बलर महँगा सावित भए भने ब्याटिङ पूर्ण रूपमा असफल रह्यो। इम्प्याक्ट प्लेयरका रूपमा मैदान उत्रिएका राहुल तेवतियाले अर्धशतक बनाए पनि अन्य कुनै ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्।गुजरातका आठ ब्याटर दोहोरो अंकमा समेत पुग्न सकेनन्। केवल साई सुदर्शन, जोस बटलर र राहुल तेवतिया मात्र दोहोरो अंकमा पुगे।

पावरप्लेमा गुजरातको पाँच विकेट पतन

लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत निकै कमजोर रह्यो र टोलीले पावरप्लेभित्रै पाँच विकेट गुमायो।

साई सुदर्शन पहिलो विकेटका रूपमा आउट भए। ज्याकब डफीको बलमा प्रहार गर्ने क्रममा उनको ब्याट हातबाट छुटेर स्टम्पमा लागेपछि उनी हिट विकेट भए। उनले नौ बलमा तीन चौकासहित १४ रन बनाए।त्यसपछि भुवनेश्वर कुमारले कप्तान शुभमन गिललाई बोल्ड गरे। गिल सात बलमा दुई रन बनाएर आउट भए।

जोस हेजलउडले जोस बटलरलाई आउट गर्दै गुजरातलाई तेस्रो झट्का दिए। बटलर ११ बलमा चार चौका र दुई छक्कासहित २९ रन बनाएर पभेलियन फर्किए। त्यसपछि रासिख सलाम डारले निशान्त सिद्धु र जेसन होल्डरलाई लगातार आउट गर्दै गुजरातलाई थप संकटमा पारे। गुजरातको इनिङ्स त्यसपछि सम्हालिन सकेन र नियमित अन्तरालमा विकेट गुमाइरह्यो। आठ विकेट पतन भएपछि राहुल तेवतियाले सम्यमित रहँदै अर्धशतक बनाए।

उनले मोहम्मद सिराजसँग नवौँ विकेटका लागि ६८ रनको साझेदारी गरे। तेवतियाले ४३ बलमा आठ चौका र चार छक्कासहित ६८ रन बनाए। आरसिबीका लागि ज्याकब डफीले तीन विकेट लिए। भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले समान दुई–दुई विकेट लिए भने जोस हेजलउडले एक विकेट लिए।

आरसिबीको आक्रामक सुरुआत

यसअघि टस जितेर गुजरातले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। आरसिबीका लागि भेङ्कटेश अय्यर र विराट कोहलीले सुरुदेखि नै आक्रामक ब्याटिङ गरे। भेङ्कटेश १९ रन बनाएर आउट भए। त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलले इनिङ्स सम्हाले।

पावरप्लेमा आरसिबीले एक विकेटको क्षतिमा ७६ रन बनायो, जुन आइपिएल प्लेअफ इतिहासकै चौथो उच्च पावरप्ले स्कोर हो। कागिसो रबाडाले तीव्र बाउन्सिङ स्पेलमा विराटलाई चुनौती दिए पनि उनले संयमित खेल प्रदर्शन गर्दै कोहलीले ४३ रनको उपयोगी इनिङ्स खेले। देवदत्त पडिक्कलले पनि ३० रनको योगदान दिए।

मध्य ओभरमा राशिद खानले कसीलो बलिङ गर्दै रनगति नियन्त्रण गरे। त्यसपछि जेसन होल्डरले लगातार दुई बलमा विराट कोहली र देवदत्त पडिक्कललाई आउट गर्दै गुजरातलाई खेलमा फर्काउने प्रयास गरे।

पाटीदारले जीवनदानको पूरा फाइदा उठाए

१४औँ ओभरमा खेलको मोड फेरियो, जब प्रसिद्ध कृष्णाको बलमा रजत पाटीदारलाई दुई पटक जीवनदान मिल्यो। त्यसपछि कुलवन्त खेजरोलियाको एक ओभर निकै महँगो रह्यो, जसमा खराब फिल्डिङसँगै दुई नो–बल र एक वाइडसहित कुल २८ रन खर्चिए।

रजत पाटीदारले त्यसको पूरा फाइदा उठाउँदै राशिद खानसहित सबै बलरमाथि आक्रामक भए। यस क्रममा क्रुणाल पाण्ड्याले पनि तीव्र गतिमा रन जोडे। चौथो विकेटका लागि उनीहरूबीच ९५ रनको साझेदारी भयो, जसलाई कागिसो रबाडाले तोडे।

पाटीदारले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे र अन्तिमसम्म आक्रामक खेल जारी राखे। आरसिबीले अन्तिम छ ओभरमा ११४ रन जोड्दै आइपिएल प्लेअफ इतिहासकै विशाल स्कोरमध्ये एक बनायो।

आरसिबीका लागि क्रुणाल पाण्ड्याले २८ बलमा पाँच चौका र दुई छक्कासहित ४३ रन बनाए। जितेश शर्माले पाँच बलमा एक चौका र एक छक्कासहित १५ रनमा अविजित रहे।
गुजरातका लागि कागिसो रबाडा र जेसन होल्डरले दुई–दुई विकेट लिए भने प्रसिद्ध कृष्णाले एक विकेट हात पारे।

प्रकाशित : 27 May, 2026

प्रतिक्रिया दिनुहोस्