आज देशभरको मौसम कस्तो रहला ?
सहयात्रा टिभी
काठमाडौं । जेठ २० , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ । हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
यसैगरी लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशको हिमाली भूभागमा साधारणतया, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
