सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, २०८१ असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोका कारण ६ खेलाडीले ज्यान गुमाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुधन बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यहरूमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारङ्गिन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती र शिक्षा तथा खेलकुद मन्त्रालयका एकजना कानुनी अधिकृत छन् ।

१२ असोज २०८१ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी विद्यालयमा रहेको एन्फा सिस्नेरी एकेडेमीका ६ किशोर खेलाडीको निधन भएको थियो । एन्फाकै कमजोरीका कारण उक्त घटनामा आफ्ना बच्चाहरू गुमाएको भन्दै आफन्तहरूले आरोप लगाउँदै आएका छन् ।

उक्त घटनामा एकेडेमीका किशोर खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो ।

घटनाको छानबिनका लागि ज्यान गुमाएका खेलाडीका आफन्तले खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो ।

 

प्रकाशित : 7 June, 2026

प्रतिक्रिया दिनुहोस्