फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३५ जना मृत्यु, २०० घाइते
सहयात्रा टिभी
काठमाडौँ । जेठ २६, फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

अधिकांश मानवीय क्षति भवन भत्किँदा र पहिरो जाँदा भएको समाचार एजेन्सी एपीले जनाएको छ । साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ ।
प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालानका अनुसार साराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ । साराङ्गानीको पहिरोबाहेक अधिकांश मृत्यु भवन भत्किँदा वा भग्नावशेषले च्यापिँदा भएको अधिकारीहरूले बताएका छन् ।
दक्षिणी प्रान्तहरू साउथ कोटाबाटो, दाभाओ ओक्सिडेन्टल तथा बालुट टापुमा मस्जिदलगायतका संरचना क्षतिग्रस्त भएका छन् ।
मनिलास्थित डीजेडआरएच रेडियो नेटवर्कका अनुसार यसको प्रादेशिक कार्यालय रहेको चारतले व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । यद्यपि कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।
भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको दोस्रो ठूलो जनसंख्या भएको मिन्डानाओ टापु नजिक समुद्रमा थियो । भूकम्प ३३ किलोमिटर गहिराइमा थियो ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका निर्देशक तेरेसितो बाकोल्कोलका अनुसार यो सन् २०२६ मा फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
उनले पराकम्पनका कारण क्षतिग्रस्त भवनहरू थप भत्किन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।
अधिकारीहरुका अनुसार जनरल सान्तोस सहर सबैभन्दा बढी प्रभावित भएको छ । यहाँका धेरैजसो कम उचाइका भवनहरू भत्किएका छन् ।
७ लाखभन्दा बढी जनसंख्या रहेको जनरल सान्तोसमा कम्तीमा चार जना बेपत्ता छन् । सुपरमार्केट, गोदाम, विद्यालय तथा अन्य क्षतिग्रस्त भवनहरूमा मानिस फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ ।
फिलिपिन्सको सहयोगी राष्ट्र अमेरिकाले मनिलासँग समन्वय गरिरहेको र आवश्यक परे उद्धार तथा राहतमा सहयोग गर्न तयार रहेको जनाएको छ । फ्रान्स, जापान र न्युजिल्यान्डले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
फिलिपिन्स प्रशान्त महासागर वरिपरि रहेको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्छ ।
साथै हरेक वर्ष करिब २० वटा आँधी तथा तूफानले पनि देशलाई प्रभावित पार्ने भएकाले फिलिपिन्स विश्वकै सबैभन्दा बढी प्राकृतिक विपत्तिको जोखिममा रहेका मुलुकहरूमध्ये एक मानिन्छ ।
