सरकारसँग डेढ लाख टन रासायनिक मल मौज्दात
सहयात्रा टिभी
काठमाडौँ । जेठ २६, सरकारको गोदाममा कुल १ लाख ४० हजार ८ सय ४१ अनुदानित रासायनिक मल मौज्दात रहेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको १ साउन २०८२ देखि १८ जेठ २०८३ सम्मको विवरण अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका गोदाममा उक्त परिमाणको मल मौज्दात रहेको हो ।
कुल मौज्दातमध्ये सबैभन्दा धेरै युरिया मल ८० हजार ९ सय टन छ । यसैगरी डीएपी ४० हजार ७ सय ६० टन र पोटास १९ हजार १ सय ८० टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ का लागि सरकारले कुल ६ लाख टन रासायनिक मल ल्याउने लक्ष्य राखेको छ । यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ लाख ९१ हजार ३ सय टन मलको टेन्डर भइसकेको छ ।
गत आव मार्गस्थ परिमाण (बाटोमा रहेको मल) समेत जोड्दा हालसम्म कुल ५ लाख ५७ हजार ७ सय ९० टन आपूर्ति भएको छ । जसमा युरिया ३ लाख २९ हजार ६ सय ८९, डीएपी २ लाख ८ सय ३२ र पोटास २७ हजार २ सय ६८ टन आपूर्ति भएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार गत आव बाँकी मौज्दात सहित हालसम्म कुल ४ लाख ६५ हजार ३ सय १९ टन रासायनिक मल बिक्री भइसकेको छ । बिक्री भएको कुल मलमध्ये युरिया २ लाख ७५ हजार ९ सय ९३ टन, डीएपी १ लाख ७४ हजार २ र पोटास १५ हजार ३ सय २३ टन छ ।
यस्तै अझै ३ हजार ३ सय ३५ टन रासायनिक मल आउने क्रममा छ । जसमा युरिया ४ सय ८८ टन र डीएपी २ हजार ८ सय ४६ टन छ । सरकारले मौज्दात मल वितरण भइरहेकाले धान सिजनमा तत्कालका लागि मल अभाव नहुने दाबी गर्दै आइरहेको छ ।
