ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमण हुँदा तीन भारतीय नागरिकको मृत्यु
सहयात्रा टिभी
काठमाडौँ । जेठ२८, ओमानको खाडीमा रहेको एक तेल ट्यांकरमाथि अमेरिकी सैन्य आक्रमण हुँदा तीन भारतीय नागरिकको मृत्यु भएको छ ।

सुरुमा बेपत्ता भएका भनिएका तिनैजना भारतीय नागरिकहरुको शव फेला परेको भारतका बन्दरगाह, जलमार्ग तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले बिहीबार जानकारी दिएका छन् ।
सोनोवालले एक्समा लेखेका छन्, ‘यो हाम्रो लागि अपूरणीय क्षति हो । यस कठिन समयमा मोदी सरकार शोकसन्तप्त परिवारका साथ दृढतापूर्वक उभिएको छ ।
मृतकका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ । उद्धार गरिएका चालकदलका सदस्यहरूलाई तत्काल स्वदेश फर्काउने र मृतक नाविकहरूको शव अन्तिम संस्कारका लागि चाँडै भारत ल्याउने व्यवस्था गर्न मैले अधिकारीहरूलाई निर्देशन दिएको छु ।’
यस घटनापछि भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित अमेरिकाको दूतावासका उपप्रमुखलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको बीबीसीले जनाएको छ । भारतस्थित अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाएको थियो ।
अमेरिकी आक्रमणमा परेका भारतीयहरुलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको थियो ।
अमेरिकी सेन्ट्रल कमाण्डले पलाउको झण्डा बोकेको सेटेबेलो ट्यांकरले इरानबाट तेल ढुवानी जारी राखेर नाकाबन्दी उल्लंघन गरेकाले आक्रमण गरेको जनाएको छ । कमाण्डले एक्समार्फत जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अमेरिकी सेनाले पटक–पटक चेतावनी दिए पनि चालकदलले बेवास्ता गरेपछि एक अमेरिकी विमानले जहाजको इन्जिनलाई लक्षित गर्दै सटीक हतियार प्रहार गरेको हो ।’ अमेरिकी सेनाले यस कारबाहीको भिडियोसमेत सार्वजनिक गरेको छ ।
यस घटनाले खाडी क्षेत्रमा जारी द्वन्द्व र समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको बीबीसीले जनाएको छ ।
अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो । तेहरानले होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि यो कदम चालिएको थियो ।
यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा तथा विदेशी द्वन्द्वमा परेका भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ ।
यसबीच इरान र अमेरिकाबीच तनाव कम हुने कुनै संकेत देखिएको छैन। अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेको छ ।
