भरतपुर क्यान्सर अस्पताल अध्यक्षको नियुक्ति ढिलाइ हुँदा अस्तव्यस्त बन्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, चितवनको भरतपुरस्थित देशकै ठूलो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अध्यक्षको नियुक्ति ढिलाइ हुँदा अस्पताल अस्तव्यस्त बन्दै जान थालेको छ ।

अध्यक्ष नहुँदा नीतिगत निर्णयदेखि दैनिक कामकाज सञ्चालनमा समेत प्रत्यक्ष असर परेको छ ।

अस्पतालले खरिद गरेका सामानहरूको भुक्तानी रोकिएको छ । त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा देखिन थालेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले विगत २ महिनादेखि तलब भत्ता खान पाएका छैनन् । निवृत्त भएका कर्मचारीहरुको उपदान वापत पाउने रकमको निकासा रोकिएको छ ।

२०८२ चैत २० गतेदेखि अध्यक्ष रहेका डा.विजय न्यौपानेको कार्यकाल सकिएपछि सरकारले २०८३ वैशाख १५ गते अस्पतालको नयाँ अध्यक्ष नियुक्तिका लागि ७ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । वैशाख २२ गतेसम्म दरखास्तको म्याद राखेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवेदकहरुको सर्टलिष्ट गरेको नाम प्रकाशन गर्न एक महिना भन्दा बढी समय लगाएको छ ।

मन्त्रालयले प्रारम्भिक सूचीमा परेका उम्मेदवारलाई आगामी असार १ गते अपराह्न ५ बजेसम्म आफ्नो कार्ययोजना तथा संस्थागत सुधारसम्बन्धी दृष्टिकोण समेटिएको अधिकतम तीन हजार शब्दको ‘सोचपत्र’ इमेलमार्फत पेश गर्न आग्रह गरेको छ ।

प्रारम्भिक सूची निकाल्न मात्रै एक महिनाभन्दा बढी समय लगाएको मन्त्रालयले सोचपत्रको मूल्याङ्कन गरेर कहिले अध्यक्षका लागि सिफारिस गर्ने हो भन्ने एकिन छैन । सोचपत्र इमेल मार्फत मागे पनि आवेदकहरुको प्रस्तुतिकरण र अन्तर्वार्ताको समय अझै निर्धारण गरेको छैन ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ । साथै क्यान्सर रोगसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको व्यक्ति मात्र अध्यक्ष पदका लागि योग्य हुने प्रावधान रहेको छ ।

मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अस्पतालको अध्यक्ष चयन गर्ने व्यवस्था छ ।

 

प्रकाशित : 14 June, 2026

प्रतिक्रिया दिनुहोस्