काठमाडौं उपत्यकाका ५ स्थानबाट सिधै ग्याँस बेच्दै आयल निगम : परिचयपत्र अनिवार्य

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, खाना पकाउने एलपी ग्याँसको चरम अभाव झेल्न बाध्य उपभोक्तालाई तत्काल राहत दिन नेपाल आयल निगमले काठमाडौं उपत्यकाका पाँच विभिन्न स्थानबाट सिधै ग्याँस बिक्री वितरण सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको संयुक्त पहलमा ग्याँस उद्योगीहरूमार्फत यो विशेष व्यवस्था मिलाइएको हो। निगमका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्याँस किन्न सकिनेछ। तर, ग्याँस खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ।

हाल ग्याँसको आयात नियमित नै रहेको र डिलरहरूमार्फत पनि बिक्री वितरण भइरहेको निगमले स्पष्ट पारेको छ। यद्यपि, घरमा ग्याँस पूर्ण रूपमा सकिएर ‘अतिआवश्यक’ अवस्थामा पुगेका उपभोक्तालाई तत्कालको समस्या समाधान गर्न मात्र यो अस्थायी विकल्प ल्याइएको हो।

निगमले तोकेका पाँच छुट्टाछुट्टै स्थानमा विभिन्न ब्रान्डका ग्याँसहरू उपलब्ध गराइएको छ। कुन ठाउँमा कुन ग्याँस पाइन्छ, विस्तृत विवरण यसप्रकार छ:

– टेकुस्थित निगमको परिसर:नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्ड।
– चाबहिलस्थित यातायात कार्यालय परिसर:नेपाल र एचपी ब्रान्ड।
– कीर्तिपुरस्थित राधास्वामी परिसर:नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्ड।
– बसुन्धरास्थित राधास्वामी परिसर:नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्ड।
– बबरमहल (पुरानो जिल्ला प्रशासन कार्यालय परिसर):नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्ड।

ग्याँसको अति आवश्यकता भएका व्यक्तिहरूलाई मात्र तोकिएको समय र स्थानमा आफ्नो आधिकारिक परिचयपत्रसहित उपस्थित भई ग्याँस खरिद गर्न निगमले विशेष अनुरोध गरेको छ।

प्रकाशित : 15 August, 2026

प्रतिक्रिया दिनुहोस्