जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई उद्यम गर्न ५० लाखसम्म सहुलियत कर्जा

सहयात्रा टिभी

काठमाडौँ । साउन ३०, सरकारले ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार र घाइतेहरूलाई लक्षित गर्दै ५० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने निर्णय गरेको छ। उनीहरूलाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

 

यसका लागि अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गरेको छ। मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५, उपदफा ९(४) ले दिएको अधिकार प्रयोग गर्दै कार्यविधिमा संशोधन गरेको जनाएको छ।

नयाँ कार्यविधिमा ‘जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा’को विशेष व्यवस्था थप गरिएको छ। यो सहुलियत कर्जा पाउनका लागि आन्दोलनका घाइते वा शहीद परिवार भएको भनी नेपाल सरकार वा तोकिएको आधिकारिक निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। कार्यविधिले ‘शहीद परिवार’ भन्नाले शहीदका पति, पत्नी, छोरा, छोरी र आमाबाबुलाई सम्झनुपर्ने भनी स्पष्ट पारेको छ।

कुन-कुन क्षेत्रमा गर्न पाइन्छ लगानी ?
सहुलियतपूर्ण दरमा प्राप्त हुने यो कर्जालाई विभिन्न उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिनेछ। जसमा कृषि तथा पशुपन्छी पालन, घरेलु तथा साना उद्योग, पर्यटन व्यवसाय, सूचना प्रविधि (आईटी) मा आधारित व्यवसाय, सेवामूलक व्यवसाय, उत्पादनमूलक उद्योग र स्टार्टअप उद्यमहरू रहेका छन्। यसका अतिरिक्त सरकारले समय-समयमा तोक्ने अन्य व्यवसायमा पनि यो कर्जा उपयोग गर्न पाइनेछ।

आन्दोलनका कारण प्रभावित बनेका परिवार तथा घाइते नागरिकलाई आर्थिक रूपमा सबल, आत्मनिर्भर र स्वरोजगार बनाउने सरकारी लक्ष्यअनुसार यो कर्जाको दायरा फराकिलो पारिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : 15 August, 2026

प्रतिक्रिया दिनुहोस्