पहिलो २ महिनामा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल
सहयात्रा टिभी
काठमाडौँ । असोज २८, चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिनामा २० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।
अघिल्लो वर्ष २०२र८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्षको २ महिनामा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको हो।
तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ। चालू आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ।
यसैगरी, दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा यस वर्षको २ महिनामा ४.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ।
नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ।
चालू आवको सुरुवातमा अधिकांश बैंकले करोडौँ नाफा कमाए पनि एनआईसी एसिया बैक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको सञ्चित नाफा भने ऋणात्मक रहेको छ। तथ्यांकअनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ।
हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ।
