ट्रम्पले गरे रुसमाथि लगाएका प्रतिबन्धहरु खारेज, जेलेन्स्कीसँगको विवाद थप चर्कियो

सहयात्रा टिभी

काठमाडौँ । असोज ३१, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लागु हुन लागेका थुप्रै कडा प्रतिबन्धहरू अन्तिम समयमा रोकिदिएका छन्। संसदले पारित गरेपछि स्वयं ट्रम्पले गत सेप्टेम्बरमा हस्ताक्षर गरी कानुन बनेको उक्त प्रतिबन्ध कार्यान्वयनमा आउन दुई दिन मात्र बाँकी छँदा उनले कार्यकारी आदेशमार्फत निलम्बन गरेका हुन्।

यस कदमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच पछिल्लो समय चुलिँदै गएको मतभेदलाई झनै उत्कर्षमा पुर्‍याएको छ।

शुक्रबार राति कार्यकारी आदेश जारी गर्दै ट्रम्पले केही प्रतिबन्धहरू रोक्नु अमेरिकाको ‘राष्ट्रिय हित’मा रहेको दाबी गरेका छन्। तर, ट्रम्पको यस निर्णयविरुद्ध अमेरिकी सांसदहरूबाटै चर्को विरोध सुरु भएको छ।

डिजेल सम्झौता र वाक्युद्ध

केही समयअघि अमेरिकाले रुसबाट डिजेल आयात गर्ने विवादास्पद सम्झौता गरेपछि वासिङ्टन र किएभबीचको सम्बन्ध चिसिन थालेको थियो। लगत्तै युक्रेनले ट्रम्प प्रशासनमाथि महत्त्वपूर्ण सैन्य सहायता कटौती गरेको गम्भीर आरोप लगाएको थियो।

त्यसयता ट्रम्प र जेलेन्स्कीबीच सार्वजनिक रूपमै तीखो वाक्युद्ध चलिरहेको छ। ट्रम्पले जेलेन्स्कीसँग कुरा मिलाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा पनि ‘कठिन’ रहेको टिप्पणी गरेका थिए। त्यसको जवाफ फर्काउँदै जेलेन्स्कीले युरोपेली युनियनको सम्मेलनमा पुगेर ‘वास्तविक नेताहरू’को माझमा उपस्थित हुन पाउँदा खुसी लागेको भन्दै ट्रम्पमाथि व्यंग्य कसेका थिए।

कस्ता थिए रोकिएका प्रतिबन्ध ?

नयाँ अमेरिकी कानुनले रुसी अर्थतन्त्रलाई प्रत्यक्ष प्रहार गर्ने लक्ष्य राखेको थियो। यसअन्तर्गत रुसबाट तेल र ग्यास खरिद गर्ने शीर्ष पाँच मुलुकहरू—विशेषगरी भारत र चीन—बाट हुने आयातमा अमेरिकाले १०० प्रतिशतसम्म भन्सार महसुल लगाउन पाउने गरी राष्ट्रपतिलाई व्यापक अधिकार दिइएको थियो।

यसबाहेक राष्ट्रपति पुटिनसहित शीर्ष रुसी अधिकारीहरू, वित्तीय संस्थाहरू र अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न प्रयोग गरिँदै आएको रुसको ‘स्याडो फ्लीट’ (विशेष पानीजहाज) लाई समेत कडा प्रतिबन्धको सूचीमा राखिएको थियो। तर, ट्रम्पले ती अधिकांश प्रावधानहरूलाई कार्यान्वयन हुन नदिई छुट (वेभर) दिएका छन्।

ट्रम्पको यस कदमको विपक्षी डेमोक्र्याटहरूले कडा आलोचना गरेका छन्। भर्जिनियाका डेमोक्र्याट सांसद डन बेयरले ट्रम्पले पुटिनसामु आत्मसमर्पण गर्दै युक्रेन र जेलेन्स्कीको ढाडमा छुरा घोपेको आरोप लगाएका छन्। “ट्रम्पको यो पछिल्लो आत्मसमर्पणले युक्रेनी साझेदारहरूलाई फेरि धोका दिएको छ र गैरकानुनी युद्धका लागि रुसलाई दण्डित गर्न संसदले बनाएको कानुनको ठाडो उल्लंघन गरेको छ,” बेयरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

इन्धन महँगी, युद्धविरामको दाबी र स्टारलिङ्क विवाद

इरानसँगको युद्धका कारण अमेरिकामा इन्धनको मूल्य आकाशिएको छ। आसन्न मध्यावधि चुनावको मुखमा आकासिँदो महँगीले अमेरिकी जनमानसमा ट्रम्पको लोकप्रियता घट्दै गएपछि इन्धनको भाउ घटाउन उनले रुसी डिजेल आयात गर्न प्रतिबन्ध खुकुलो पारेका थिए। जेलेन्स्कीले भने यस सम्झौतालाई रुसको युद्ध-कोषमा अमेरिकाले गरेको प्रत्यक्ष लगानीको संज्ञा दिएका थिए।

यसैबीच ट्रम्पले रुसी डिजेल निर्यातलाई सहज बनाउन दुवै देश ‘ऊर्जा युद्धविराम’मा सहमत भएको दाबी गरेका थिए। तर, युक्रेनले रुसबाट लगातार आक्रमण नरोकिएपछि रुसी तेल प्रशोधन केन्द्रहरूमा पुनः प्रहार सुरु गर्‍यो। यसलाई ट्रम्पले ‘लज्जास्पद’ कदम भनेका थिए भने जेलेन्स्कीले आफूले केवल देशको हितको रक्षा गरिरहेको जवाफ फर्काए।

यति मात्र होइन, युक्रेनलाई उपलब्ध गराइएको अमेरिकी भूउपग्रह प्रणाली ‘स्टारलिङ्क’मा आएको अवरोधले ट्रम्प रुसको पक्षमा लागेको संशयलाई झनै बढाएको छ। पछिल्लो साता स्टारलिङ्कले ड्रोनको उडान गति नियन्त्रण गरिदिएपछि युक्रेनको युद्धभूमि रणनीतिमा गम्भीर धक्का पुगेको थियो। यही मौकामा रुसले युक्रेनमा बिनाकुनै पूर्वचेतावनी घातक मिसाइल आक्रमण गरेको थियो।

जेलेन्स्कीले स्टारलिङ्कको गति अझै पूर्ण रूपमा सुचारु नभएको बताएका छन् भने ट्रम्पले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान रोकेको वा स्टारलिङ्क सेवा नियतवश सुस्त बनाएको आरोप अस्वीकार गरेका छन्।

प्रकाशित : 17 October, 2026

प्रतिक्रिया दिनुहोस्