तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, बडादसैँको नवौँ दिन अर्थात् महानवमीका अवसरमा आज ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ। शक्तिस्वरूपा देवी दुर्गाको पूजा–आराधना गर्न बिहानैदेखि मन्दिर परिसरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको हो।

धार्मिक मान्यताअनुसार दसैँको महानवमीलाई विशेष दिनका रूपमा मनाइन्छ। यस दिन दुर्गा भवानीको विधिवत् पूजाअर्चना गर्नुका साथै परम्पराअनुसार विभिन्न हातहतियार तथा औजारहरूको पनि पूजा गर्ने चलन छ।

महानवमीका दिन तलेजु भवानीको दर्शन तथा पूजा गर्न काठमाडौँ उपत्यका र आसपासबाट आएका भक्तजनहरूको लामो लाम लागेको छ। दर्शनार्थीहरूको उल्लेख्य आगमनसँगै हनुमानढोका दरबार क्षेत्र र आसपासको वातावरण निकै चहलपहलमय तथा उल्लासपूर्ण बनेको छ।

प्रकाशित : 20 October, 2026

प्रतिक्रिया दिनुहोस्