एनपीएलको तेस्रो संस्करणमा ‘डीआरएस’ प्रविधि प्रयोग गर्ने क्यानको घोषणा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे आधिकारिक जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस भित्र्याउने कसरत भइरहेको बताएका थिए। उनका अनुसार दुईवटा कम्पनीसँग प्रविधिको प्रारम्भिक परीक्षण सम्पन्न भइसकेको छ र त्यसको तथ्यपरकता (एक्युरेसी) मूल्यांकनपछि अन्तिम टुंगो लगाइने तयारी छ।

क्यानले दिएको जानकारीअनुसार प्रतियोगितामा एलबीडब्लु (LBW) सम्बन्धी निर्णयको रिभ्युका लागि ‘फुल थ्रीडी बल ट्रयाकिङ’ प्रविधि उपलब्ध हुनेछ। त्यसबाहेक रनआउट, स्टम्पिङ र नो–बलको परीक्षणका लागि पनि रिभ्यु प्रणाली प्रयोग गरिनेछ।

त्यस्तै बल ब्याटमा लागे/नलागेको स्पष्ट पहिचान गर्न कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘एज डिटेक्सन’ प्रविधि जडान गरिने भएको छ। यसका साथै हाइटको वाइड छुट्याउन, प्रहार गरिएका छक्काको लम्बाइ तथा उचाइ नाप्न र समग्र बलिङ एनालिटिक्सका लागिसमेत अत्याधुनिक प्राविधिक सुविधा रहने क्यानले स्पष्ट पारेको छ।

आधुनिक क्रिकेटमा डीआरएस निकै विश्वसनीय प्रविधिका रूपमा स्थापित छ। मैदानमा रहेका अम्पायरको निर्णयप्रति शंका लागेमा वा चित्त नबुझेमा यस प्रणालीमार्फत रिभ्यु लिन सकिन्छ, जसले गर्दा बलिङ टोलीलाई विकेट दिलाउन र ब्याटिङ टोलीलाई गलत आउट हुनबाट जोगाउन महत्त्वपूर्ण मद्दत पुग्छ।

प्रकाशित : 20 October, 2026

प्रतिक्रिया दिनुहोस्