सरकारविरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पार्टीपंक्तिलाई ओलीको निर्देशन
सहयात्रा टिभी
काठमाडौं । मंसिर १ , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

आईतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनका लागि तयार हुन निर्देशन दिएका हुन्। उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने मुख्य कार्यभार रहेको बताए।
‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुई वटा महत्त्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ। एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथिहरू सधैं हरदम तयार हुनुहोला,’ ओलीले भने।
आन्दोलन सधैं लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए।
‘आन्दोलन सधैं लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन। असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,’ उनले भने, ‘कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट कहीँ जनविद्रोबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ।’
उनले कुनै पनि बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था रहेको बताए। त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए। ‘कुनै पनि समयमा आन्दोलनमा जानुपर्छ। साथीहरू त्यसको तयारीमा जुट्नुहोला। मानसिक रुपले पनि तयार रहनुहोला,’ ओलीले भने।
एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको जिकिर गरे।
अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति एमाले भएको उनको दाबी थियो। ‘हामी अफ्ठ्याराहरूसँग जुधेर आउने बानी परेको छ।
उनले केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै एमाले पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।
