‘म महिला हुँ’, के म कमजोर छु ?
सहयात्राटीभी सम्पादकीय : राज्यको चौँथो अंगको रुपमा रहेको ‘पत्रकारीता’ पेशा निकै जोखीमपूर्ण पेसा हो । त्यसमा पनि महिलाको हकमा यो पेशा चुनौतीपूर्ण नै छ । महिलाहरुले यो पेशा अपनाउन आफैले ठूलो हिम्मत गर्नु त छँदै छ, घरपरिवार र समाजलाई सम्झाएर हरेक पाईलामा देखिने जोखिमलाई समेत सामना गर्न सक्नुपर्छ । पुरुषहरुको निम्ति यो पेसा जति जोखिमपूर्ण छ महिलाको निम्ति त्यो भन्दा पनि खतरनाक र कठिन छ । त्यसमा पनि सामाज र संस्कारको लहरामा जेलिएको नेपाली समाजका महिलाहरुको हकमा यो पेसा फलामको चिउरा चपाउनु जस्तै कठिन छ । केहि महिलाहरुले हिम्मत गरेर आफु पनि पुरुषसरह नै काम गर्न सक्छु भन्ने विश्वासका साथ फलामे चिउरा चपाउन पुरुष सरह उक्त कार्यमा बाहिर निस्किए पनि संकुचित सोच भएका समाजका केहि वर्गले महिला पत्रकारलाई पल पलमा ‘म महिला हुँ’, ‘म कमजोर छु’ भन्ने महशुस गराउन खोज्छ र गराउँछ पनि । फलस्वरुप पत्रकारीता पेसामा आबद्ध भएको केहि समयपश्चात नै पत्रकारिताबाट पलायन हुन पुग्छन् अधिकाशं महिलाहरु ।
सञ्चारिका समुहले २०७२ सालमा गरेको एक अध्ययनअनुसार पत्रकारीता पेसामा मात्र २५ प्रतिशत श्रमजीवी महिला पत्रकार छन् । यो संख्या पुरुषको तुलनामा चार भागको एक भाग मात्र हो । सञ्चारिका समुहले जम्मा ९ सय ७ सञ्चारगृहमा अनुसन्धान गरेको थियो । जसमा ७ हजार ६ सय ५० पत्रकार मध्ये ५ हजार ७ सय ११ पुरुष पत्रकार रहेकोमा १ हजार ९ सय ११ जना मात्रै महिला पत्रकार रहेको पाइएको छ । यसमा पनि बढि मात्रामा २० देखि ३० वर्ष उमेर समुहका महिलाहरु छन् । यहाँ प्रश्न उठ्छ कि ३० वर्ष माथिका पत्रकार महिलाहरु कहाँ वेपत्ता भए त ? यसमा हामी सजिलै भन्न सक्छौ कि, ३० वर्ष भित्रमा महिलाको विवाह हुन्छ, तत्पश्चात घर र पेसाको तालमेल मिलाउन नसकेर पेसा छाड्न वा परिवर्तन गर्न बाध्य हुन्छन् ।
पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको छ भनिन्छ । यसमा केहि हदसम्म त सत्यता होला, तर महिलाको उपस्थिति मात्र केवल नामको लागी छ, अधिकाशं क्षेत्रका महिलाहरु पुरुष पत्रकार तथा सञ्चारमाध्यमका लागि सहयोगीको काममा सिमित हुन पुगेका छन् । वरिष्ठ र कार्यकारी पदमा पुग्ने महिला पत्रकारहरुको संख्या हामीले औँलामा गन्न सक्ने जति मात्र छ । यसमा प्रश्न उठ्छ, बरिष्ठ पदमा महिला पत्रकार पुग्न नसक्नुमा महिलामा नै क्षमता छैन कि, महिलाहरुले अवसर नै पाउँदैनन् ? यस प्रश्नले जवाफ मागेको धेरै भइसक्यो तर कहिँ कतैबाट जवाफ आउन सकेको छैन् ।
सञ्चारिका समुहको दुई बर्षअघिको अनुसन्धानअनुसार पत्रकारिताको क्षेत्रमा वरिष्ठ संवाददातामा महिलाको उपस्थिति केवल २ दशमलव ९ प्रतिशत मात्र छ । त्यसैगरि सम्पादकमा ८ दशमलव १ प्रतिशत र प्रकाशक वा व्यवस्थापकमा २ दशमलव ७ प्रतिशत मात्रै रहेको पाइएको छ । यो संख्या निकै कम हो । महिला पत्रकारहरु सबैभन्दा बढि समाचारवाचिका वा कार्यक्रम प्रस्तोताको रुपमा नै सिमित रहेको पाइएको छ । जुन खाली अर्कोले लेखिदिएको वाचन गर्नेवाहेक खोज अन्वेषणको काम नै हुदैन । अव महिला पत्रकारले पनि आफ्नो योग्यता र क्षमता आफैले पहिचान गरि खोजी अन्वेषणको जिम्मेवारी सम्हाल्न पनि अग्रसर हुनुपर्छ, नकि अनुहार देखाउनका लागि प्रस्तोताको भूमिकामा मात्रै नभई । यो क्षेत्रमा सबैभन्दा बढि ४१ दशमलव ५ प्रतिशत महिलाहरुको उपस्थिति रहेको देखिएको छ । महिला संवाददाता र उपसम्पादक पदमा भने २९ दशमलव ३ प्रतिशत महिलाहरु रहेका छन् । यसबाट महिला पत्रकारहरु अहिलेसम्म पनि तल्लो तहको पदमा नै सिमित रहेको देखिन्छ ।
पत्रकारितामा लागेका अधिकाशं महिलाहरु सामाजिक लगायतका सामान्य बिटमा सिमित छन् । राजनीति, आर्थिक र अन्तराष्ट्रिय विट हेर्ने महिलाको उपस्थिति नगन्य छ । राजनीति बिटमा ३ प्रतिशत महिलाहरु कार्यरत छन्, भने आर्थिक क्षेत्रमा २.५ प्रतिशत महिलाहरुले काम गर्छन तर अन्तराष्ट्रिय विटमा काम गर्ने महिला भने ०.८ प्रतिशत मात्र छन् । यो अत्यन्तै निरासाजनक तथ्याङ्क हो । यसले अझै पनि महिलाहरु सक्षम भइसकेका छैनन् भन्ने संकेत गरिरहेको छ ।
आधा भन्दा बढि जनसंख्या भएका महिलाहरुलाई दोस्रो दर्जाको मानिसको रुपमा हेरिन्छ । महिलाहरु घरपरिवार सम्हाल्ने, बच्चा जन्माउने, हुर्काउने र पुरुषको हरेक क्रियाकलापमा सहयोगीको भुमिका मात्रै निर्वाह गर्ने वस्तुको रुपमा हेरिने दृष्टिकोण हाम्रो जस्तो साँगुरो सोच भएको समाजले अझै परिवर्तन गर्न सकेको छैन् । सामान्य पेसा गरेर आफुलाई सक्षम बनाउनसमेत निकै हिम्मत जुटाउनुपर्ने नेपाली महिलाहरुका निमित्त पत्रकारीता पेसा ‘आकाशको फल आँखा तरि मर’ भने जस्तै हुने देखिन्छ ।
समयको परिवर्तनसँगै केहि फराकिलो हुँदै गएको नेपाली समाजलाई मनाएर पत्रकारीतामा लागेका महिलाहरु पनि लामो समयसम्म तल्लो स्तरमै सिमित हुने या त केहि समयपछि पेसाबाटै पलायन हुने अवस्था छ । यसको कारण भनेको लैङ्गिक असमानता नै हो । पत्रकारितामा लागेका अधिकाशं महिलाहरुले पुरुषहरुसरह पारिश्रमिक नपाउनु मुख्य समस्या बनेको छ । यो क्षेत्रमा पुरुषहरुले केवल भौतिक असुविधा भोग्नुपर्ने हुन्छ तर महिलाहरुले भौतिक असुविधाका साथै सामाजिक चुनौति पनि झेल्नुपर्ने हुन्छ । रातविरातसम्म खटिनु पर्ने यो पेसामा सम्बन्धित सञ्चारमाध्यहरुले सुरक्षाको व्यवस्था गर्नु त परकै कुरा हो, आफ्नै पुरुष सहकर्मिबाटसमेत हिंसात्मक र हेयको व्यवहार सहनुपर्ने हुन्छ । सहकर्मिबाट राम्रै व्यवहार भएर सञ्चारमाध्यहरुले समेत सुरक्षाको व्यवस्था गरि काम गर्ने वातावरण सहज भएपनि रातविरातसम्म काम गर्दा, घर बाहिर रहँदा यस समाजले महिलामाथि हेर्ने दृष्टिकोण नै फरक छ, फलस्वरुप उक्त महिलामा आफ्नै पेसाप्रति पनि हिनताबोध हुँदै जान्छ । घरपरिवार र पेसालई तालमेल मिलाउँदै अघि बढ्नु, समाजले लगाइदिएको मर्यादाका पर्खाललाई जोगाइराख्नु, छोरी हुँ भन्ने मानिसिकताले बच्चाबाट नै मष्तिस्कमा नमेटिने छाप पार्नु, पुरुष सहकर्मिहरुबाट सहयोगको बदलामा हिंसात्मक व्यवहार गरिनु, अवसरबाट बञ्चित गराईनु महिलाहरु पत्रकारितामा लामो समय दरिलो भएर खडा हुन नसक्नुको मुख्य कारण हो भन्दा खासै फरक नपर्ला ।
महिला पनि पुरुषको दाँजोमा हर काममा कम छैनन् । आजका महिला जुझारु रुपमा अगाडी बढेका छन् । महिलालाई कमजोर सोच्ने र घरभित्र मात्र सिमित पारिने साँगुरो सोचाइलाई फराकिलो बनाउन नसकेसम्म पत्रकारितामा दया लाग्दो महिलाको उपस्थितिलाई बढाउन सकिदैन । वुझेर पनि अवुझजस्तो बनेको समाजले लागाईदिएको मर्यादाको पर्खाल र सामाजिक संस्कारले झुन्डाइदिएको पाउजु र चुरा त महिलाले त्याग्न सक्लान तर राज्य पक्षले महिला पत्रकारहरुको विषयलाइ गम्भिरतापुर्वक लिएर अवसर उपलब्ध गराउन नसकेसम्म पत्रकारितामा महिलाको गौरव लाग्दो उपस्थिति पाउन पटक्कै सकिदैन । यस विषयलाई समाज र राज्यले गहिरिएर नसोचिदिँदा कैँयौ महिलाहरुको क्षमता भाँडा माझिएको पानी झै खेर गईरकेको छ । महिलाको योग्यतालाई यो समाजले नबुझ्दा घरभित्र नै महिलाका योग्यताहरु विलिन हुदैछन् । संगसंगै उनिहरुको समय पनि बर्बाद भएको छ भने ज्ञानको भण्डार पनि रित्तिदो छ । यो विषयमा अव पनि समाजले आफ्नो संकुचित मानसिकतालाई परिवर्तन नगर्ने र राज्यले पनि महिला पत्रकारिताको क्षेत्रमा ठोस कदम नचाल्ने हो भने ‘एक हातले मात्रै तालि बज्दैन’ भने झै पुरुषको पहलमा मात्र देशको विकास र परिवर्तन सम्भव छैन ।
यो पनि पढ्नुहोस्
https://sahayatratv.com/?p=23263
https://sahayatratv.com/?p=23288