भारतका विभिन्न स्थानबाट ३७ नेपाली महिलाको उद्धार

काठमाण्डौं । कात्तिक–७, भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारीअनुसार भारतका बिभिन्न स्थानसम्म पुर्याएको थियो ।सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको थियो । मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मारेर थप ९ जना नेपाली महिलालाई उद्धार गरेको थियो । ती सात महिलाहरुसँगै भारतसम्म पुर्याइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद भएका छन् जसमा बिभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ । मानव तस्करीको यो सञ्जालमा तीन जना मुख्य व्यक्ति संलग्न रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् । अनिलले दुबईबाट गणेशसमक्ष नेपाली महिलाहरुको माग पठाउँछन् । गणेशले महिलाहरुलाई जम्मा गर्दछन् र बसमार्फत केदारनाथसम्म पुर्याउँछन् ।
केदारनाथलाई पक्राउसमेत गरिसकिएको गाजिवादका एसएसपी वैभव कृष्णले बताएका छन् । गणेशसँगै उनका दुई सहयोगी रोमियो जोशी र ज्ञानेन्द्र गिरि पनि पक्राउ परेका छन् । जोशी र गिरीले केदारनाथ भन्ने व्यक्तिको सम्पर्कमा आएका महिलाहरुलाई इन्दिरापुरममा बस्ने व्यवस्था मिलाउने गरेको आरोप छ ।