अनुगमनमा भेटियो आइसीयूका बिरामीलाई म्याद सकिएको औषधि

विराटनगर । कात्तिक–९, प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा सञ्चालित लाइफ गार्ड र गोल्डेन अस्पतालले इमर्जेन्सी र आईसीयूका बिरामीलाई म्याद गुज्रेका औषधि दिने गरेको भेटिएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा दुई अस्पतालले आउट डेटेड औषधि प्रयोग गरेको पाइएको हो । गोल्डेनमा इमर्जेन्सीमा प्रयोग हुने एउटा औषधि म्याद नाघेको पाइएको थियो भने लाइफ गार्डमा आईसीयू र एनआईसीयूमा प्रयोग हुने इञ्जेक्सन म्याद नाघेको भेटिएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार अनुगमन टोलीले लाइफगार्डमा एनआईसीयुमा प्रयोग हुने एमिनोफोलिन र आईसीयूमा प्रयोग हुने एक्टाक्युरियम ब्इसलेट इञ्जेक्शन म्याद नाघेको भेटेको थियो । त्यस्तै गोल्डेनको इमर्जेन्सीमा म्याद गुज्रेको नेओन कम्पनीको औषधि प्रयोग भएको पाइएको थियो ।
अनुगमन टोलीले म्याद नाघेको औषधि प्रयोग गरेर जनस्वास्थ्यमाथि गम्भिर खेलबाड गरेका अस्पताललाई कारबाही गर्नुपर्ने भए पनि त्यसो गरेको छैन । म्याद नाघेका औषधि बिसर्जन गर्न मात्र निर्देशन दिएको छ ।