तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाण्डौं । पुष–१०, नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
स्टकका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । ती कम्पनीले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।
कोषले आव २०७४ र ७५ मा गरेको नाफाबाट २२ दशमलव शुन्य छ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता एक हजार ७९१ रुपैयाँ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । कोषको औसत आधार शेयर मूल्य दुई हजार ५५४ रुपैयाँ कायम भएको छ । आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ।
यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता एक हजार ४१३ रुपैयाँ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधार मूल्य एक हजार ३८६ रुपैयाँ कायम भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले एक दशमलव २३ प्रतिशत शेयर लाभांश कर प्रयोजनका सहित आठ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य १४२ रुपैयाँ हुने गरी मूल्यमा समायोजन भएको छ । कम्पनीको औसत आधार मूल्य १८८ रुपैयाँ कायम भएको छ।रासस