आगलागीबाट अठार लाखभन्दा बढीको क्षति

सर्लाही । माघ–६, घरमा बालेको घुरबाट आगलागी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ। आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर रु १० लाख बराबरको क्षति भएको छ। किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करीब रु तीन लाख बराबरको क्षति भएको छ। सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर दुई लाख ७५ हजार बराबरको क्षति भएको छ।
त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करीब एक लाख बराबरको क्षति भएको छ। जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब रु ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा रु एक लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
स्थानीयवासी, प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिए। पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहले बताए।