राहत गोदाममै कुहियो, विपन्न भोकभोकै

काठमाडौं ।श्रावण–०८,विपन्न र असंगठित स्थानमा मजदुरी गर्ने परिवारका लागि वितरण गर्ने भनिएको राहत स्थानीय तहको गोदाममै कुहिन थालेको छ ।कोरोना भाइरसका कारण समस्यामा परेका अतिविपन्न र असंगठित मजदुरहरूको लागि भनेर प्रदेश सरकारले दिएको राहत सामग्री समयमै वितरण नहुँदा कुहिन थालेका हुन् ।
प्रदेश सरकारले कोरोना राहतबापत दोस्रो चरणमा घरेलु कार्यालयमार्फत जिल्लाका सम्पूर्ण स्थानीय तहमा खाद्यान्न वितरण गरेको थियो ।घरेलुमार्फत वडा गत रूपमा आएको खाद्यान्न वितरण नहुँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले बताए ।बरहथवा नगरपालिकाअन्तर्गतमा १८ वटा वडामा प्रतिवडा ५२ बोराका दरले चामल वितरण भएको थियो । उक्त राहतमा स्थानीय तहले ध्यान नदिँदा विपन्न भोकभोकै बस्नुपर्ने, तर राहत कुहिएको स्थानीयले गुनासो गरेका छन् । प्रदेश सरकारले खाद्यान्नको जोहो गर्न नसक्ने विपन्न, ज्याला मजदुरी गर्ने किसान, एकल महिला, अपांगलगायतलाई उक्त राहत वितरण गर्नुपर्ने कार्यविधि बनाएको छ । राहतमा प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल, एक किलो नुन पोका, आधा किलो सोयाविन र हात धुन एउटा साबुनको व्यवस्था गरेको जिल्ला घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख जितेन्द्र गुप्ताले बताए ।घरेलु तथा साना उद्योगले जिल्लाका २० वटै स्थानीय तहलाई असार पहिलो साता राहतका सम्पूर्ण सामग्री वितरण गरेको जनाएको छ । उक्त कार्यलयले राहत वितरणपश्चात् सम्पूर्ण स्थानीय तहलाई विवरण कार्यालयमा बुझाउनसमेत भनेको छ ।जिल्लाका २० मध्ये दुई–तीनवटाभन्दा धेरै स्थानीय तहले राहत वितरण गर्न नसकेको उक्त कार्यालयले जनाएको हो । अहिलेसम्म राहत वितरण गरेको दुई–तीनवटा कार्यालयले मात्र विवरण बुझाएको गुप्ताले बताए । उनले बाँकीले कतै नबाँडेको त कतै केही बाँकी रहेको जनाएका छन् । उनीहरूले राहत वितरण गरे–नगरेको अनुगमन गरिरहेको कार्यालयको भनाई छ ।नयाँपत्रिकाबाट