समयमा नै यसरी बालबालिकाको अपांगता पहिचान गर्न सकिन्छ

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२१,कुनै पनि व्यक्तिमा हुने शारीरिक, मानसिक तथा संवेदनात्मक विकृति जसले आफ्नो दैनिक कार्य सम्पादनमा बाधा पु¥याएको हुन्छ, त्यसलाई नै अपांगता भनिन्छ । तर समयमै उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसर पाएमा ती बालबालिका स्वावलम्बी हुन सक्छन् ।

यस्ता छन् अपाङ्गताका केही कारणहरू:

*जन्मजात असामान्यता

*आमाबावुबाट शिशुमा रोग सर्नु

*गर्भावस्थामा समस्या हुनु

*प्रशवका बेला समस्या र जटिलता आउनु

*जबर्जस्ती प्रसूती गराउदा

*दुर्घटना भएमा

*रोग लागेमाः जस्तै पोलियो, अति ज्वरो, मस्तिष्क ज्वरो, आदि

*गम्भीर कुपोषण

कसरी अपाङ्गताको पहिचान गर्ने ?

सामान्य रुपमा निम्न सङ्केतबाट अपाङ्गताको पहिचान गर्ने,

-आफ्ना शिशुको हरेक क्रियाकलाप ध्यान पूर्वक अवलोकन गर्ने

-स्पर्श, आवाज, अन्य व्यक्ति, आँखाको सम्पर्क र खेलौनाहरूप्रति शिशुले प्रतिक्रिया गर्छ कि गर्दैन ध्यान दिने

-शिशुका आँखा वरिपरि रङ्गीन वस्तुहरू हल्लाउँदा हेर्छ कि हेर्दैन परीक्षण गर्ने

-शिशुलाई पछाडीबाट बोलाउदाँ वा घण्टी बजाउँदा आवाजतिर फर्कन्छ, फर्कदैँन हेर्ने

-उमेरअनुसार बस्ने, घस्रिने, हिंड्ने र टाउको सन्तुलन गर्ने क्रियाकलाप गर्न सक्छ कि सक्दैन हेर्ने

-उमेर अनुसार स्पष्टसँग कुराकानी गर्न सक्छ कि सक्दैन हेर्ने

-अनुभव गरेका, सिकेका कुरा सम्झेर बताउन सक्छ कि सक्दैन ध्यान दिने

-दैनिक दिनचर्याका परिवर्तनलाई स्वीकार गर्न गाह्रो मान्छ कि मान्दैन ध्यान दिने

-अरुसँग घुलमिल हुन र साथी बनाउन गाह्रो मान्छ कि मान्दैन हेर्ने

अपाङ्गताको रोकथाम

*आमा तथा बालबालिका प्रतिरक्षित खोप लगाउने

*पौष्टिक खाना खाने र गर्भावस्थामा स्वस्थ रहने

*गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ नखाने

*डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्ने

*गर्भावस्थामा छँदा एक्स रे नगराउने

*सरुवा रोग हुनबाट सावधान भई बच्ने

*गर्भावस्थामा छँदा र सुत्केरी भएपछि सम्भाव्य दुर्घटनाहरूबाट जोगाउने

*स्वास्थ्य संस्थामा दक्ष स्वास्थकर्मीको सहयोगमा प्रसुति गराउने

*अपाङ्गता भएका बालबालिकालाई हौसला

अपाङ्गता भएका बालबालिका र अपाङ्गता नभएका बालबालिकामा उस्तै भावना र आवश्यकता हुने हुँदा समान व्यवहार गर्नुपर्दछ । वृद्धि विकास हुने अवसर र वातावरण दिएर हुर्काउनु पर्दछ । बालबालिकालाई आमाबाबु र परिवारहरूबाट टाढा राखिनुहुन्न । उनीहरूका शारीरिक एवम् मानसिक भाषा र सिकाइसम्बन्धी चुनौती भए पनि उनीहरूका माया र हेरचाहको अधिकार हुन्छ । उनीहरूको सबल पक्ष पहिचान गरी हौसला र उत्प्रेरणा गरेर आत्मविश्वास बढाउनुका साथै क्षमता विकास गर्ने व्यवस्था गर्नु पर्दछ ।बालबालिकाको कुनै अपाङ्गताप्रति केन्द्रित नभई उनीहरूमा रहेको क्रियाशिलता र सक्षमतालाई पहिचान गरी त्यसैलाई अधिकतम विकास गराउनु पर्दछ ।शिशु बालबालिकाको अपाङ्गताको अवस्था र विकासात्मक चरण अनुसार उत्प्रेरणा प्रदान गर्नु पर्दछ । कहिले पनि बालबालिकालाई दुर्व्यवहार, हिंसा र अवहेलना गर्नु हुदैन । अपाङ्गता भएका बालबालिकाका लागि उचित शिक्षा र अवसर सुनिश्चित गर्नु पर्दछ । अभिभावकका लागि पनि नेपाल सरकार तथा विभिन्न संघसंस्थाबाट तालिमको पनि व्यवस्था पनि हुने हुँदा त्यस्ता विशेष तालिमले सहयोग पुर्‍याउँछ । शिशु बालबालिकाको अपाङ्गताको अवस्था अनुसार सम्बन्धित वडा कार्यालय, नगरपालिका, गाउँपालिकाको महिला बालबालिका शाखामा सम्पर्क गरी परिचय पत्र तथा सेवा लिनुपर्दछ ।

(युनिसेफ नेपालले तयार पारेको लेख साभार)

प्रकाशित : 5 August, 2020

प्रतिक्रिया दिनुहोस्