नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले जिते कोरोना

सहयात्रा टिभी

बाँके । भाद्र –१८,नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले कोरोनालाई जितेर निको भई घर फर्किएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी (अनुमति लिएर नाम सार्वजनिक) बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किएको जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ८८ वर्षका व्यक्तिले कोरोना जितेर निको भई घर फर्किएको नेपालमै पहिलोपटक बाँकेमा भएको बताए । भदौ ४ गते सङ्क्रमण पुष्टि भएपछि उनलाई खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र आइसोलेसनमा राखिएको थियो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि कुर्मी लौराको सहारामा गाडीमा चढेर आइसोलेसनमा गएकाथिए । तर बिहीबार निको भएर डिस्चार्ज भएको बेला उनी पहिलेभन्दा निकै स्वस्थ देखिएको र उनको हातमा लौरो पनि नभएको जनाइएको छ ।नेपालमै सबैभन्दा बढी उमेरको निको हुने सङ्क्रमित बनेका उनलाई जडीबुटीको प्रयोगले कोरोनासँगको लडाइँमा आफूलाई सफलता मिलेको बताउँदै आत्मबल र जडीबुटीको प्रयोगले कोरोना पराजित भएको प्रतिक्रिया उनले दिए ।उनले कोरोना लाग्दैमा मानिस मर्दैन भन्ने उदाहरण आफू भएको जनाउँदै धैर्यधारण गरेर केही आवश्यक कामहरू गर्ने हो भने कोरोनालाइ सहज रुपमै पराजित गर्न सकिने पनि प्रष्ट पनि पारे ।निको भएका उनीसहित सबैलाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले खादा ओढाउँदै बिदाइ गरेको बताइएको छ ।८८ वर्षीय कुर्मीसँगै बिहीबार बाँकेकामा २४ जना निको भएर घर फर्किएका छन् । बिहीबार निको हुनेमा नेपाली सेनाको मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका १७ सैनिक पनि रहेका छन् । योसँगै जिल्लामा कोरोनामुक्त हुनेको सङ्ख्या ७८३ पुगेको छ ।स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये, छ जनाको मृत्यु भइसकेको छ भने अझैपनि विभिन्न आइसोलेसनमा ३०६ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

प्रकाशित : 3 September, 2020

प्रतिक्रिया दिनुहोस्