मत्स्येन्द्रनाथ जात्राको रथ तान्न माग गर्दै स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । भाद्र –१८, ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गर्दै स्थानीयले प्लेकार्ड सहित धर्ना दिएका छन् । बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गर्दै प्ले कार्ड सहित प्रदर्शन गरेका हुन् ।
पटक पटक रथारोहणको प्रयास भए पनि लकडाउन र काठमाडौँ उपत्यकामा कोरोना भाइरस फैलिएका कारण रथारोहण स्थगित हुँदै आएको छ । पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको बताइएको हो ।
निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ ।स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्याएका छन् । अहिले पुल्चोक सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्रदर्शनकारीले पानीको फोहोरा हान्ने प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन् ।