सङ्कटकालको हल्ला निराधार : गृह प्रवक्ता

काठमाडौं । कार्तिक–०४, सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कर्फ्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कर्फ्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गरेकाछन् ।सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी प्रवक्ता बुढाले दिए ।सरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कर्फ्यु लगाउने सोच राखेको छैन भन्दै प्रवक्ता बुढाले भने, “सामाजिक सञ्जालमा आएको भ्रामक सूचना निराधार र तथ्यहीन हो । यसप्रति विश्वास नगरी सबैलाई सूचित हुन आग्रह गर्दछौं।”
यस विषयमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि केही साताअघि स्पष्ट पारिसकेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नै भनेर अब निषेधाज्ञा जारी नगर्ने बताएकाछन्।