लागुऔषधको जालो भत्काउँदै प्रहरी

कञ्चनपुर । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ ।
खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ ।
पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेपछि लागुऔषध कारोबारको जालो भत्काउन प्रहरी सफलतातर्फ उन्मुख देखिएको छ ।
डेढ महिनामा लागुऔषध कारोवार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले ठूलो परिणाममा पक्राउ परेका लागुऔषध कारोवार गर्ने गिरोका भारतीय र नेपाली युवकलाई पक्राउलाई आफ्नो सफलता मानेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ ।
लागुऔषध दुर्व्यसनमा परेका युवाकै कारण समाजमा घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र यहाँका विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ ।
डेढ महिनाअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्नु भएका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले लागुऔषध कारोवारमा सक्रिय ठूला गिरोहमाथि अत्यधिक निगरानी बढाइएको बताउनुभयो ।
“यहाँ आएको थोरै समयमा मैले २० देखि ३० प्रतिशत लागुऔषध नियन्त्रणको दायरामा ल्याइसकेको छु ।” उहाँले भन्नुभयो, “यस चालु आर्थिक वर्षमा मात्रै ३९० ग्राम खैरो हिरोइन बरामद गरेको छौँ, यो ठूलो परिणाम हो ।” उहाँले युवा पिढी लागुऔषध र अन्य दुव्र्यसनमा लिप्त देखेपछि त्यसको नियन्त्रणका लागि कारवाही र सचेतना सँगसँगै थालेको बताउनुभयो । प्रहरीले कञ्चनपुरको दक्षिण क्षेत्रबाट भारत हुँदै नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहका मुख्य व्यक्ति भारतीय नागरिकलाई गत माघको अन्तिम साता यहाँको बेलौरी क्षेत्रबाट पक्राउ गरिसकेको छ ।
भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ वर्षीय सुच्चा सिंहलाई पक्राउ गरेपछि भारतमा बसेर नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहमाथि प्रहरी जानकार छ ।
त्यसैगरी माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको थियो । अभियुक्त चौधरी पनि सो क्षेत्रमा सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न हुने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार ब्राउनसुगर र खैरो हिरोइन उच्चकोटीको लागुऔषध हो ।