बच्चालाई छुट्टै सुताउने कि आमाबाबुसँगै ?

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, बच्चालाई राति सुत्ने समयमा आमा बाबुसँगै सुताउने कि छुट्टै सुताउने ? विशेषगरी गाउँघरमा आमाबाबुको बीचमा बच्चालाई कहिलै पनि सुताउनुहुन्न भन्ने मान्यता रहेको छ । तर सहरी भेगमा यसबारेमा खासै चासो दिएको पाइँदैन । अझ काठमाडौं जस्ता सहरी भेगमा एउटा कोठामा गुजारा चलाउने परिवारको लागि यो निर्विवादित विषय हो कि एउटै खाटमा आमाबाबु र बच्चा सुत्ने गर्छन् ।

कहिलेकाहीँ यस्तो पनि सुन्नमा आउन सक्छ कि गहिरो निद्रामा हुँदा आमाको हात बच्चाको मुखमा या अन्य शरीरमा नै गएर पनि बच्चालाई समस्या भएका समाचारहरू आउने गर्छ । त्यो समस्याको चिन्ताबाट मुक्ति पाउन एवं आमाको पूरा निद्राको लागि बच्चालाई नजिकै राखे पनि एउटै खाटमा नसुतेकै राम्रो हुन्छ ।

बच्चालाई सुरूदेखि नै छुट्टै सुत्ने बानी बसाउनु आमा वा बच्चाको लागि स्वास्थ्यवर्द्धक कुरा हो । यसको कैयौं लाभहरू हुन्छन् । बच्चालाई अलगै सुताउँदा आमाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्ने गर्छ । छुट्टै सुताउँदा आमाको पनि निद्रा पूरा हुन्छ भने बच्चा पनि एउटा सिङ्गै खाटमा आरामसँग सुत्न सक्छ । यसले आमा र बच्चाको लागि समेत स्वास्थ्य सन्तुलनमा राख्न सकिन्छ ।

बच्चालाई अलग औछ्यानमा सुताउनु शारीरिक वा मानसिक हिसाबले समेत फाइदाजनक मानिन्छ । यस्तो शारीरिक एव‌ं मानसिक फाइदा आमाबाबुलाई पनि हुन सक्छ । यसले पतिपत्नीबीचको सम्बन्धमा समेत फाटो आउन सक्दैन ।

एक वर्ष नपुग्दासम्म बच्चालाई आफ्नो साथमा सुताउनुपर्छ । त्यसपछि बच्चालाई आफ्‍नो जस्तै सामान्य ओछ्यानमा तल अर्को डसना राखेर सुताउन सकिन्छ ।
कतिपय महिला ७/८ वर्षसम्मको बच्चालाई समेत आफ्नो साथमा सुताउने गर्छन् । यदि सबैभन्दा कान्छो बच्चा होस् या त एक्लो छोरा होस् । १२/१३ वर्षसम्म पनि आफूसँगै सुताउने गर्छिन् । तर यति ठूलो बच्चालाई आफ्नो साथमा सुताउनु आमा र बच्चाको लागि समेत अहितकर हुने गर्छ ।

बच्चालाई एक्लै सुताउने बानी बच्चैदेखि बनाउँदै लैजानु आमाको लागि मात्रै नभएर बच्चाको लागि समेत फाइदाजनक मानिन्छ । बच्चालाई सानैदेखि अलगै बनाउँदा उसले आफ्नो कोठालाई सुन्दर बनाउन आफ्नै किसिमले सोच्ने गर्छ । जस्तो, कुन ठाउँमा पढाइको टेबुल राख्ने कहाँ सुत्ने भन्ने व्यवस्थापन गर्न होस् या त कोठा सफा गर्न पनि सानै उमेरदेखि सिक्ने गर्छ । रातमा सुत्ने समयमा यदि आन्तरिक कोठा छ भने त्यस्तो कोठा कहिलै बन्द नगर्नुहोस् । भित्री कोठा छैन भने बाहिरी कोठा पनि सम्भव भएसम्म खुला राख्नुपर्छ । ताकि बच्चालाई परेको समस्या समाधान गर्न सकियोस् र बच्चाप्रति नकारात्मक सोचाइ नआओस् ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्