ग्यारेज सञ्चालनबाट बदलेको जीन्दगी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने र चार-पाँच महिना तालिम लिइसकेपछि ग्यारेज सञ्चालन गर्न कुनै समस्या नभएको विराटनगरको रोडशेष चोकमा सञ्चालित युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसनेको भनाई रहेको छ । सुरूमा प्रशिक्षार्थीलाई बिना पारिश्रमिक काममा लगाउने र काम सिकिसकेपछि पारिश्रमिक पनि दिने गरेको उनले बताए।

सुरूमा उनले बजाजको शोरूममा काम गर्थे। काम सिक्नका लागि तनवीरलाई कम्पनीले कोलकता पठाईयो। त्यहाँबाट उनले काममा दक्षता हासिल गरेर कम्पनीमै काम सुरू गरे तर कामअनुसारको दाम नदिएपछि, कम्पनी छाडेर आफ्नै ग्यारेज खोले। काम कुनै पनि ठूलो, सानो हुँदैन र यसलाई जीवनमा उतार्न सक्नुपर्‍यो अनिमात्र त्यसबाट लाभ लिन सकिने ग्यारेज सञ्चालकको भनाइ छ।

केही औजार र सटर भाडामा लिई सञ्चालन हुने सो व्यवसायमा लाग्नेको सबै सामान मोटर पार्टस् पसलेले उपलब्ध गराउँछ। यस्ता पार्टसबाट पनि उनीहरूले राम्रै कमिसन पाउने गरेको विराटनगर भट्टीचोकस्थितका कमल मोटरपार्टस् सञ्चालकले जानकारी दिए। ग्यारेजवालाले एक महिनासम्म उधारोमा सामान लैजान्छ र पछि एकमुष्ट पैसा बुझाउन आउँदा कमिसन पनि पाउने गरेको बताइएको छ। विराटनगर महानगरपालिका-११ बसपार्क छेउमा मोटरसाइकल र स्कुटर मर्मत केन्द्रका नवीन पौदार भन्छन्, ‘बिहानदेखि बेलुकासम्म काम गर्दा कम्तिमा पाँच हजार रुपैयाँ दैनिक कमाउँछु। यसबाट मेरो परिवार राम्रोसँग चलेको छ।’ यो व्यवसायमा कहिले पनि घाटा हुँदैन, सधैं नै आम्दानी यो व्यवसाय पछिल्लो समयमा निकै चल्नुको कारण मोटरसाइकल चढ्ने सौखिन एवं उपभोक्ता बढ्नु नै भएको पोदारको भनाइ छ।

विराटनगरमै लगभग १०० जति ग्यारेज छन्। सबै उत्तिकै चलेका छन्। कोही पनि हात बाँधेर बस्नुपर्ने अवस्था छैन। धेरै वर्ष पहिले मोटरसाइकलवालाले इञ्जिन बनाउन भारत विहारको फरबीसगञ्ज जान्थे तर अहिले हाम्रै देशमा प्रशस्त ग्यारेज भएकाले कसैले पनि देश बाहिर गएर मोटरसाइकल बनाउनुपर्ने अवस्था छैन। सीप सिकेर काम गरेमा कसैले पनि भोकै बस्नु नपर्ने ग्यारेजवाला विराटनगरका लागि उदाहरण बनेका छन्।

 

 

प्रकाशित : 6 March, 2021

प्रतिक्रिया दिनुहोस्