बंगलादेशबाट युरिया मल वीरगञ्ज भित्रियो

सहयात्रा टिभी

काठमाडौं । फल्गुन २६, नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको २ हजार ५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको छ । बंगलादेशबाट ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो लट २२ हजार ५ सय मेट्रिक टन युरिया आउँदैछ ।

मल बोकेको एउटा रेल्वे र्‍याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए । भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्ग मार्फत नेपाल आउने क्रममा छ । २२ हजार ५ सय मेट्रिक टनमध्ये ५ हजार ६ सय २५ मेट्रिक टन कोलकाताबाट सोझै ट्रकमा विराटनगर लगिने कृषि सामग्री कम्पनीले बताएको छ ।

बाँकी ९००० मेट्रिक टन युरिया मल वीरगञ्ज ल्याइनेछ । सुख्खा बन्दरगाह आइपुगेको २ हजार ५ सय मेट्रिक टन मल भन्सार जाँच पासको प्रक्रिया पूरा गरेपछि कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्ज आउने क्रममा रहेको केसीले बताए । दुई तीन दिनको फरकमा मल बोकेर रेल आउने र बाँकी मल भने २० दिनभित्र आइपुग्ने उनको भनाइ छ । सुख्खा बन्दरगाहबाट ट्रकमा ढुवानी गरी मल वीरगञ्जसम्म ल्याइने गरिएको छ । वीरगञ्जमा ल्याइएको मल कृषि सामग्री कम्पनीको विभिन्न कार्यालयमा दर्ता भएका कृषि सहकारी मार्फत किसानलाई वितरण गरिनेछ ।

 

प्रकाशित : 10 March, 2021

प्रतिक्रिया दिनुहोस्