शोषित, पीडित एवं असुरक्षित नेपाली महिला

काठमाडौं । चैत्र ०१, आज केही देशहरूमा महिलाहरू राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भएका छन् । वर्तमान समयमा सूचना, सञ्चार, उद्योग, सेना र प्रहरी कार्यालयहरूमा पनि महिलाहरू कार्यरत छन् ।
यसमा उनीहरूको सामर्थ पनि कम छैन भन्ने कुराको पुष्टि हुन्छ । अन्य देशहरूमा भन्दा नेपालमा महिला प्रतिनिधिहरूको संख्या बढी छ । प्रजातन्त्रको जननी मानिने बेलायत, संयुक्त राज्य अमेरिका, विकसित देशहरू मानिने अस्ट्रेलिया, स्वीजरल्यान्ड, क्यानडा आदिको तुलनामा नेपाली महिलाहरूले अग्रणी स्थान ओगटेका छन् ।
वर्तमान संविधानले यहाँका महिलाहरूको प्रतिनिधि ३३ प्रतिशत सुनिश्चित गरेको छ भने संघीय एवं प्रदेश संसद्मा एकतिहाइ परिकल्पना गरिएको छ । हाल यहाँ राष्ट्रपतिजस्तो गरिमामय पद र अन्य ठूला पदहरूमा महिलाहरू कार्यरत छन् । योबाहेक यहाँको स्थानीय तहमा झन्डै ४१ प्रतिशत महिला कार्यरत छन् ।
विभिन्न राजनीतिक दलहरूले पालिकाहरूका लागि प्रमुख वा उपप्रमुखको उम्मेदावारी दिँदा एक महिला त हुनैपर्ने प्रावधान छ । निजामती सेवाको ४५ प्रतिशत आरक्षणमा ३३ प्रतिशत महिलाहरूका लागि छुट्ट्याइएको छ । तर, यस्तो भए पनि यहाँका महिलाहरू शोषित, पीडित एवं असुरक्षित छन् ।
हालसम्म पनि यहाँका महिलाहरूलाई बोक्सी भनेर कुटपिट गर्ने एवं मलमूत्र खुवाउने काम, दाइजो कम ल्याउनेलाई घरपरिवारबाट दुःख दिने, छाउपडीको पीडा सहनुपर्ने र प्रत्येक दिन सरदर ६ जानासम्म बलात्कृत हुने अवस्था छ ।