राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने

काठमाडौं । चैत्र ०२, राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले थर सूचीकृत गर्ने भएको हो ।
सोमबार राष्ट्रिय मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको थर सूचीकृत गर्ने बताए ।
आर्थिक वर्ष २०७६/०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँमध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको बताईएको छ । आर्थिक वर्ष २०७६/०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययनसमेत भएको उनले जानकारी दिए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने अन्सारीले बताए ।
राष्ट्रिय मुस्लिम आयोगले २०७६/०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाइकटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारी साधन मर्मत तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीले बताए ।
मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २३६ मदरसा सम्बन्धी तथ्यांक र सूचना संकलन गरिएको पनि उनले बताए । मदरसामा पढ्दै गरेका छात्राहरुलाई बाहिरको सरकारी तथा निजी विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने गुनासो आएकाले उनीहरुलाई सहज हुने पोशाक लगाउन वातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि अन्सारीले बताए ।