सर्वसाधारणले वार्षिक पाँच सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्न पाइने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, सर्वसाधारणले विदेशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरीद गर्नका लागि वार्षिक पाँच सय डलर बराबरको प्रिपेड कार्ड लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले डलर वा अन्य विदेशी मुद्रामा प्रिपेप कार्ड जारी गर्न पाउने व्यवस्था गरेको हो ।

यो प्रावधानसँगै सर्वसाधारणले बैंकबाट विदेशी मुद्राको प्रिपेड कार्ड लिएर अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्न पाउने भएका छन् । यसरी वस्तु तथा सेवा अनलाइनमार्फत खरिद गर्दा त्यसलाई कानुनले प्रतिबन्ध नगरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । कार्डबाट पुँजीगत कारोबारको लागि खर्च गर्न नपाइने र कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, पीओएसलगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्न समेत निर्देशनमा उल्लेख छ ।

विदेशी मुद्राको प्रिपेड कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आम्दानी गरेको उक्त रकम पनि कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्ने र यो रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ । तर, कार्डमा पाँच हजार डलरभन्दा बढी विदेशी मुद्रा भएमा उक्त रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्