रानीपोखरीबाट कमलपोखरी लगिएका १० हजार माछा बेपत्ता

काठमाडौं । चैत्र १०, भूकम्पले क्षति पुर्याएपछि रानीपोखरीका १० हजार माछा कमलपोखरीमा हालिएको थियो । त्यससँगै कमलपोखरीमै पनि माछा थिए । तर, ती माछाको हालको अवस्थाबारे महानगरले कुनै जानकारी राखेको छैन ।
काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल कमलपोखरी स्पोर्टस् क्लबलाई जिम्मा दिइएको माछा क्लबले नै बेचिसकेको बताउनु भएको छ । ‘कमलपोखरीको माछा स्पोर्टस् क्लबको जिम्मामा थियो । उनीहरूले नै दाना हाल्ने काम गर्थे । पोखरी पुनर्निर्माणका लागि पोखरी सुकाउन थालेपछि क्लबले बेचिसकेको भन्ने सुनेको छु,’ उहाँले भन्नु भयो।
कमलपोखरी सुकाउने क्रममा महानगरका मानिस आएर बोरामा हालेर केही माछा लगेको, तर त्यसपछि आफूहरूलाई थाहा नभएको उहाँको भनाइ छ । ‘भूकम्प गएकै वर्ष रानीपोखरीको माछा कमलपोखरीमा हालिएको हो । तर, हालेको दुई वर्षमा मरेर दुर्गन्ध फैलियो । त्यसपछि हामीले पोखरीबाट माछा हटाएर सफा गर्यौँ,’ मैनालीले भन्नुभयो, ‘कमलपोखरी सुकाउने क्रममा केही मानिस आएर बोराका बोरा माछा उठाए ।
करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरी पुनर्निर्माणपछि फेरिएको स्वरूपमा हुनेछ । कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिनेछ । पोखरीआसपासमा नेपालीपन झल्काउन झिँगटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिनेछन् ।