हेटौंडा-कुलेखानी-फर्पिङ सडक आजदेखि पुन: सञ्‍चालन

सहयात्रा टिभी

हेटौंडा । चैत ११, मकवानपुरको हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग आज (बुधबार) देखि संचालनमा आएको छ ।

फाइल तस्वीर

भीमफेदी—कुलेखानी सडक खण्डमा ढलान र कालोपत्रे गर्न माघ १० देखि चैत १० गतेसम्म सवारी साधन संचालनमा वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले रोक लगाएको थियो । उक्त सडकमा फराकिलो बनाउने र ढलान गर्ने काम सकिएकोले आज बिहानदेखि नियमित रुपमा यातायात सेवा संचालनमा आएको निर्देशनालय निर्देशक डा. सहदेव भण्डारीले बताए । कालोपत्रेका काम भने अझै सकिएको छैन ।

सडक खण्ड अत्यन्त जोखिमयुक्त भएकाले नालासहितको फराकिलो बनाउने कार्य प्रदेश सरकारले गरेको छ । निर्देशनालयका अनुसार १८ करोड लागतमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नति गरिएको छ ।

भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भइरहेको छ । आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ निर्माण कम्पनीलाई निर्देशनसमेत दिइएको छ ।

विगत २ महिना वैकल्पिक मार्ग भएर आवतजावत गर्ने सवारी साधनहरु त्रिभुवन राजपथ, चितवन—मुग्लिन नौबिसे सडक र कान्तिलोकपथ प्रयोग गरेका थिए । २ महिनासम्म वैकल्पिक राजमार्ग बन्द हुँदा त्यस क्षेत्रका होटल व्यवसायी र फलफूल एवं तरकारी उत्पादक कृषकहरु मारमा परेका थिए । उक्त छोटो मार्ग भएर हेटौंडा—काठमाडौं दैनिक ८ सयभन्दा बढी हलुका सवारी साधनहरु आवतजावत गर्नें गरेका छन् ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्