राष्ट्रपति भण्डारी बंगलादेशको दुई दिने भ्रमणपछि स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्केकी छन् । मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे ।

भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गरेका छन् । जसमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर-सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी भएका छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको बताए ।

उर्जा व्यापारको लागि द्धिपक्षीय सहकार्यलाई अघि बढाउने, द्धिपक्षीय व्यापारको प्रबद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरुको विकासको लागि दुवै देशको सम्भावत्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने विषयहरुमा छलफल भएको पनि उनले बताए ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्