चितवनमा राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु

काठमाडौं । चैत्र ११, जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरु गरेको छ । वि सं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले बताए ।
उनकाअनुसार जिल्लामा चार हजारको परिचयपत्र आइसकेको छ । परिचयपत्र आएसँगै वितरणको प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए । यही चैत ४ गतेदेखि वितरणको काम शुरु गरिएको उनले बताए । उनले भने, “राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया चैत ४ गतेदेखि शुरु भएको छ । अहिलेसम्म १०५ जनाले परिचयपत्र लगिसकेका छन् ।”
सेवाग्राहीलाई प्रशासन कार्यालयले आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उनको भनाइ छ ।
छुटेका र नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई भने प्रशासन कार्यालयबाटै विवरण सङ्कलन गराइरहेको सूचना अधिकारी पौडेलले बताए । हाल दैनिक सरदर ८० देखि ९० जनाको विवरण सङ्कलन हुँदै आएको उनले जानकारी दिए । सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार ४७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण सङ्कलन शुरु भएको हो ।