बालाजु–बाइपास स्थित सूचना केन्द्र निर्माण हुने

काठमाडौं । चैत्र १८, काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करीब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको बताईएको छ ।
बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् भने सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिए ।
काठमाडौँबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको राज्यमन्त्री मानन्धरले बताए । सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने पनि बताए। जसबाट महानगरबासी र पर्यटक समेतले फाइदा लिन सक्नेछन् । मेयर शाक्यले सार्वजनिक सूचना केन्द्रसँगै आधुनिक शौचालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय पनि सोही भवनमा रहने बताए।