भक्तपुरको बिस्का जात्रा आजबाट शुरू

भादगाउँ । चैत २८, सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ ।
यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ ।
यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो । तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र ५ : ३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ ।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ ।
रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ ।
बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
प्रा डा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गरेका छन् । उनले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको बताए । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।”