भौतिक दूरी कायम गर्न सरकारको निर्देशनलाई ख्याल नगरी मूर्ति स्थापनामा हजारौंको भीड

चितवन । बैशाख ०९, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम जन्मेको’ दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा बुधबार ‘भगवान्’ राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना गराएका छन्।
कोरोना संक्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर नजान, २५ जनाभन्दा धेरै भेला नहुन र भौतिक दूरी कायम गर्न सरकारले निर्देशन दिएतापनि मञ्चमै ३० जनाभन्दा बढी थिए । संघीय मन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुखहरू, संघीय र प्रदेश संसद्का सदस्य र सरकारी अधिकारीहरू मञ्चमा आसिन थिए भने मास्क नलगाउनेको संख्या अधिक थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले माडीमा राम जन्मेको प्रमाणित गराउन र अयोध्याधाम निर्माण गर्न सरकारले निरन्तर सहयोग गर्ने वचन दिएका थिए । गत भानुजयन्तीका दिन प्रधानमन्त्री ओलीले रामको जन्म भारतमा नभएर नेपालमा भएको र वीरगन्जदेखि पश्चिम ठोरीतिर राम जन्मभूमि रहेको मन्तव्य दिएका थिए । उनको यो मन्तव्य विवादमा परे पनि अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरुयोजना बन्दै गरेको हुँदा तत्कालका लागि मूर्तिहरू ल्याएर अस्थायी मन्दिरमा राखिएको छ ।