कर्णाली करिडोर निर्माणमा चट्टाने भीरको चुनौती

सिमकोट । बैशाख १४, कर्णाली करिडोर निर्माणमा विभिन्न ६ स्थानमा रहेका चट्टाने भीर चुनौती बनेका छन् । नेपाली सेनाले निर्माणको जिम्मा लिए पनि काम अघि बढ्न सकेको छैन । ७ सय मिटर लामो उक्त भीरमा अहिले ४ सय मिटर ट्य्राक खोलिसकिएको छ ।
यसबाहेक ५ सय मिटर लामो दुलिकुना भीर, एक किलोमिटर लामो छारे, ३ सय ५० मिटर लामो सुनाखाडा, ५ सय मिटर लामो लालीबगर र ५० मिटर लामो बोक्चेगौडा भीर करिडोर निर्माणमा चुनौती बनेका आयोजना कार्यालय प्रमुख विष्णुदास लामाले बताए ।
कर्णाली करिडोर निर्माणमा चट्टाने भीरका साथै यहाँको मौसम पनि बाधक हुने गरेको छ । चिसोका कारण मंसिरदेखि चैतसम्म काम हुन सक्दैन । चट्टान फोर्न आवश्यक विस्फोटक पदार्थ नेपाली सेनाको बारुदखानाबाट सहज रूपमा ल्याउन पनि प्रक्रियागत झन्झट हुने गरेको आयोजना प्रमुख लामाले जानकारी दिए ।
कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमकोट सडकखण्डको लम्बाइ १७३ किलोमिटर छ । त्यसमध्ये करिब १६ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । सिमकोट–हिल्सा ९५ किलोमिटर लामो खण्डमा पनि च्याछरामा रहेको ३ सय मिटर खण्ड मात्र ट्य्राक खोल्न बाँकी छ । अहिले हिल्सादेखि दुल्लीकुना खण्डमा १० वटा प्याकेजमा निर्माण कम्पनीसँग सम्झौता गरी काम भइरहेको लामाको भनाइ रहेको छ ।