निषेधाज्ञामा आजदेखि थप कडाइ

काठमाडौँ । वैशाख १७, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आजदेखि थप कडाइ हुने भएको छ । निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले जनाएको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो ।
शुक्रबारदेखि भने सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार पहिलो दिन भएर सवारीसाधनलाई केही खुकुलो गरिएको भए पनि आजबाट हुनै छ ।
सरकारको निर्देशन कडाइका साथ पालना गराइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ ।
सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । अत्यावश्यकबाहेक काठमाडौं प्रवेशमा रोक प्रायः लगाइएको छ । पास वितरणमा पनि कडाइ गर्ने तयारी छ । स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी गरेका छन् ।